शनिबार, मंसिर १८, २०७८

पढ्नका लागि बालश्रमिक !

३० जेष्ठ २०७३, आईतवार ०७:५७

जीवन भण्डारी
काठमाडौँ, ३० जेठ । राजधानीमा गरिएको एक अध्ययनले ६४ प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि आफू बालश्रमिक बनेर साहुको घरमा काम गरिरहेको बताएका छन् । कुल बालश्रमिकमध्ये ९६ प्रतिशत विद्यालय जाने गरेको पाइएको छ ।bal-shramikसमाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले काठमाडौँका चार हजार ८६ घरधुरीमा गरेको अध्ययनअनुसार ४४ प्रतिशत बालश्रमिकले पढाइ पूरा गर्नकै लागि आफूहरु तत्काल घर फर्किन नचाहेको बताएका थिए । बाँकी २४ प्रतिशतले त घर फर्केमा राम्रो शिक्षा नपाइने हुनाले बालश्रमिक नै भइरहनुपरेको स्पष्टीकरण दिएको अध्ययनले देखाएको छ ।
अध्ययनमा समेटिएका घरेलु बालश्रमिकमध्ये ४५ प्रतिशतले पढ्नका लागि शैक्षिक सहयोग भयो भने आफूहरु घर फर्किन सक्ने बताएको सिविसका कार्यक्रम संयोजक युवराज घिमिरेले जानकारी दिए ।
त्यस्ता बालश्रमिकलाई आफ्नै घरमा राम्रो अध्ययनको व्यवस्था गर्नका लागि उनीहरुका बाबुआमालाई रोजगारी तथा आयआर्जनको व्यवस्था गरी अनिवार्य शिक्षा लागू गर्नुपर्ने ठान्छन् बालअधिकारकर्मी शान्ति अधिकारी । “सबैभन्दा पहिला हरेक बालश्रमिकलाई उनीहरुको आफ्नै घरमा पुनःस्थापना गर्नुप¥यो, अनि बाबुआमालाई आम्दानीको बाटो जुटाइदिएर अनिवार्य रुपमा विद्यालय पठाउन लगाउनुपर्‍यो” – अधिकारीले भने ।
केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी भने उनीहरुलाई घर फर्किनेगरी शिक्षा दीक्षाको व्यवस्थाका लागि सरकारले तत्काल कार्यक्रमहरु बनाउनुपर्ने बताउँछन् । त्यसका लागि श्रम मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग समन्वय गरेर शिक्षा मन्त्रालयले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।
सिविसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ४७ प्रतिशत घरेलु बालश्रमिकले घर फर्किने इच्छा जाहेर गरेको उल्लेख छ । अध्ययनले सन् २०१६ मा काठमाडौँमा १२ हजार दुई सय ६५ घरेलु बालश्रमिक हुन सक्ने अनुमान गरिएको छ ।
तर शिक्षा मन्त्रालय भने राम्रो शिक्षा नपाएकै कारण बालबालिका घर छाडेर बालश्रमिक भएको कुरा सजिलै स्वीकार्न तयार छैन । “शिक्षा नपाएकै कारण उनीहरु बालश्रमिक हुनुपरेको हो भन्ने त मलाई लाग्दैन, यसका मुख्य कारणहरु अरु नै होलान्, तर साँच्चै त्यस्तो हो भने तिनीहरुलाई व्यवस्थापन गर्नै पर्दछ” – शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता हरि लम्साल भन्छन् । उनीहरुलाई सम्बोधन गर्न सकिने कार्यक्रमहरु शिक्षा मन्त्रालयसँग पर्याप्त रहेको जानकारी दिँदै लम्सालले नयाँ तथ्य आएकाले छलफलको विषय भएको बताए ।
अध्ययनले घरेलु बालश्रमिकमध्ये ३२ प्रतिशतलाई नातेदार र २८ प्रतिशतलाई आफ्नै आमाबाबुले घरेलु श्रमका लागि साहुको घरमा पठाउने गरेको देखाएको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए ।
बालश्रमिक राख्नेहरूमध्ये सबैभन्दा धेरै २९ प्रतिशत व्यापारी रहेका छन् भने ८९ प्रतिशत घरेलु बालश्रमिकले भान्साको काम गर्ने गरेको अध्ययनले देखाएको छ । हरेक वर्षको जुन १२ तारिखका दिन मनाउने गरिएको बालश्रमविरुद्धको विश्व दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share