सोमवार, मंसिर २०, २०७८

नौ वर्षपछि लालपुर्जा र नागरिकता हातमा

२८ जेष्ठ २०७३, शुक्रबार १२:४९

बाजुरा, २८ जेठ । बाजुरा जिल्लाको बाह्रबीस गाविसमा रहेको इकडीगाड लघुजलविद्युत् परियोजनाले विद्युत् उत्पादनका लागि राखिएका लालपुर्जा र नागरिकता नौ वर्षपछि सर्वसाधारणले पाएका छन् । 

विद्युत् निकाल्न २०६४ मङ्सिर ८ गते राखिएका लालपुर्जा लिलाम हुने अवस्थामा पुगेका थिए ।
जिल्ला कृषि विकास बैंकमा राखिएका ११ जना सर्वसाधारणका लालपुर्जाबाट रु आठ लाख ऋण झिकिएको थियो । ब्याज तिर्न नसकी साँवा र ब्याज गरी रु १६ लाख ७६ हजार ५२५ पुगेको थियो । कृषि विकास बैंकमा ऋण तिर्न नसक्दा पटकपटक लिलाम प्रक्रियामा पुर्‍याएको थियो ।
कृषि विकास बैंकले ८० प्रतिशत ब्याज मिनाहा गरेको थियो भने बाँकी रु १० लाख ३५० बैंकमा जम्मा गरेपछि नौ वर्षदेखि बैंकमा रहेका लालपुर्जा र नागरिकता सर्वसाधारणले पाएका छन् । विद्युत् उत्पादन गर्नका लागि रकम कम भएको भन्दै इकडिगाड लघुजलविद्युत् परियोजना र जिल्ला ऊर्जा तथा वातावरण शाखाको पहलमा बैंकबाट ऋण झिक्नका लागि राखिएको थियो ।
स्थानीय वीरबहादुर शाही, महा रावत, कृतम सिंह, धीर सिंह, डम्मर सिंह, करे रावललगायत ११ जनाका लालपुर्जा र नागरिकता राखिएको थियो । साँवा र ब्याज तिर्नका लागि निर्वाचन क्षेत्र विकास कोषबाट दिएको रु १० लाखको केही रकमको श्रमदान गरी बचाएको रकम, गाविस र एक घरबाट रु एक हजार सङ्कलन गरेर जम्मा गरेको परियोजनाका अध्यक्ष मीनबहादुर सिंहले बताए ।
लामो समयपछि आफ्नो लालपुर्जा र नागरिकता पाउँदा निकै खुसी भएको स्थानीयवासी कृतमबहादुर सिंहले बताएका छन् । स्थानीयवासीले लालपुर्जा राखेर बिजुली बाल्न सफल भयौँ  र अहिले ऋण तिरेर लालपुर्जासमेत हातमा पायौँ अर्का स्थानीयवासी सर्वजीत शाहीले बताए ।
ब्याज मिनाह र पैसा सङ्कलनका लागि जिल्लास्थित राजनीतिक दल जिल्ला विकास समितिलाई पटकपटक गुहार गर्‍यौँ, तर कसैबाट पहल नभएपछि निर्वाचन क्षेत्र विकास कोषबाट सांसद कर्णबहादुर थापाको रु १० लाख परियोजनामा विनियोजन भएपछि लालपुर्जा छुटाउन सहयोग भएको अध्यक्ष सिंहले बताए ।
रु १० लाखमा पाँच लाखको सामान खरिद गर्‍यौँ, बाँकी पैसा बराबरको जनताले श्रमदान गर्‍यौँ बचेको पैसा कृषिमा तिरेको उनले बताए । जनताको सहयोगबाट आज लिलाम प्रक्रिया पुगेका लालपुर्जा र नागरिकता नौ वर्षपछि पाएको भरत नेपालीले बताए । ३० किलोवाट क्षमता भएको विद्युत्बाट तीन सय परिवार लाभान्वित भएका छन् । बिग्रेको नहर र सामान खरिद गरेपछि अहिले विद्युत् सेवा पनि नियमित भएको स्थानीयवासीले बताएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share