नेपाल टेलिकमको नेटवर्क समस्याले सेवाग्राही मर्कामा
१५ असार २०७३, बुधबार ११:४८सुर्खेत, १५ असार ।
मोवाइलबाट होस् या लाइन टेलिफोनबाट एक पटकमा फोन लाग्दैन । कित सम्पर्क हुन सक्दैन या त व्यस्त छ, नेपाल टेलिकमको मोबाइल नेटवर्कमा यस्तै सूचना सुन्नु पर्ने अवस्था आम सेवाग्राहीकाे वाध्यता रहेकाे छ । नेपाल टेलिकमका सेवाग्राहीले केही दिन यता यस्तै समस्या भोग्दै आएका छन् ।हर्रे स्थित नेपाल टेलिकमको रिपिटर स्टेशनमा रहेको स्वीच कार्डमा समस्या अाएका कारण टेलिफोन नेटवर्कमा समस्या आउने गरेको नेपाल टेलिकम सुर्खेतका प्रमुख राजु थापाले बताए । उनले स्वीच कार्ड फेर्नु पर्ने भएकाले नयाँ माग गरिएको जानकारी दिए ।
नेपाल टेलिकम सुर्खेतका कार्यालय प्रमुख थापाले स्वीच कार्डमा समस्या आएको हुँदा टेलिफोन सेवामा बेला बेलामा समस्या देखिने गरेको जानकारी दिए । उनले स्वीच कार्ड आएपछि टेलिफोन सेवामा देखिएको नेटवर्क समस्या समाधान हुने बताए ।
टेलिफोन नेटवर्कमा समस्या हुनुको अर्को कारण लामो समयसम्म विधुत् जाने भएकाले व्याकअपमा पनि समस्या देखिएको हुँदा जिल्लामा टेलिफोन नचल्ने अवस्था आएको कार्यालय प्रमुख थापाले बताए । उनले भने, ‘व्याकअपको समस्याले गर्दा टेलिफोन नचल्ने समस्या छ ।’ उनले विद्युत्को समस्याले गर्दा नै सबै भन्दा बढी टेलिफोनमा समस्या हुने गरेको बताए ।
हर्रे स्थित रिपिटर टावरमा केही दिन अघि चट्याङ परेपछि टेलिफोन सेवामा देखिएको समस्या भने समाधान भएको नेपाल टेलिकम सुर्खेत शाखाले जनाएको छ । हर्रेमा रहेको रिपिटर टावरमा चट्याङ परेपछि मर्मत गरिएको हुनाले टेलिफोन सेवामा सुधार आएको कार्यालय प्रमुख थापाले बताए ।