बुधबार, मंसिर २२, २०७८

नयाँ सहरी स्वरुपको प्रतिक्षामा पूर्वी सुर्खेत

२० जेष्ठ २०७३, बिहीबार १३:०२
pitambar dhakal
पीताम्बर ढकाल

सुर्खेत जिल्लाको नक्सा तिते करेलो आकारमा पश्चिमदेखि पूर्वतिर फैलिएको छ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम र प्रदेश न. ६ को सम्भावित राजधानी वीरेन्द्रनगर उपत्यकामा एक नगरपालिका र सुर्खेतको पूर्वी क्षेत्रमा दुई वटा नगरपालिकाहरु रहेका छन् भेरीगंंगा नगरपालिका र सुवाघाट गंगामाला नगरपालिका । छिन्चु र रामघाट गाउँ विकास समिति मिलेर भेरीगंगा नगरपालिका र मैनतडा, मेहेलकुना, घुमखहरे, दहचौर र गुमी गाउँ विकास समितिहरु मिलेर सुवाघाट गंगामाला नगरपालिका बनेको छ ।
सानी भेरी र ठूली भेरीको संगमबाट बनेको भेरी नदी सुवाघाट गंगामाला नगरपालिकाको बीचभागबाट पश्चिमतर्फ बगेको छ भने भेरीगंगा नगरपालिकाको उत्तरतर्फबाट पश्चिमतर्फ भेरी नदी बगेकोछ । भेरी नदीको अथाह जलप्रवाहको सुसेलीले यो क्षेत्रलाई सधै‌ जागा राख्ने भए पनि भेरी नदीको पानी गाईवस्तुले तिर्खा मेट्ने र मान्छेले पानीको प्रवाह हेरेर मन बहलाउने बाहेक अरु कुनै उपादेयता रहेको छैन । यसको प्रमुख कारण हो नदीको गहिराइ । भेरी नदीको बालुवा चालेर सुन निकाल्ने, ढुङ्गा गिट्टीको प्रयोग गर्न मिल्ने र वाटर लिफ्ट गरेर जमिन सिँचाइ गर्ने बाहेक अन्य प्रयोन नै छैन भने पनि भयो । तैपनि नदी सभ्यताको स्रोत हो । परिवार र समाजको गहना पनि हो । हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकका लागि नदीको प्रयोग कम हुने भएकाले बोझ जस्तै भए पनि लगानी गर्न सक्यो भने र्‍याफ्टिङ आदि गराउन सकिन्छ र आर्थिको पार्जनको बलियो आधार पनि बन्न सक्छ ।
नेपाल सरकारले बाँके बर्दियाको सिँचाइका लागि रामघाटको चिफ्लेबाट सुरुङ मार्ग तयार गरी भेरीको पानी बबई नदीमा खसाल्ने योजना अनुसार भेरी–बबाइ डाइभर्सन योजना प्रारम्भ भएको छ । यसको उद्घाटन पूर्वप्रधानमन्त्री सुशील कोइरालाबाट गतबर्ष भएको हो । यो योजना प्रारम्भ हुने भन्ने भएपछि मात्र भेरी नदी विशेष चर्चाको शिखर चढेको हो । सुर्खेतको यो पूर्वी क्षेत्र बाक्लो वस्तीका कारणबाट मात्र नभएर भेरी–बबइ डाइभर्सनले पनि दुई नगरपालिकामा विभक्त भएको हो । भेरी नदी उत्तरतर्फका लेखफर्सा र दशरथपुर गा.वि.स. पनि भेरीगंगा नगरपालिकामा गाभिएको भए निकै राम्रो हुने लख काटिएको भए पनि त्यसो हुन नसक्नुमा राजनीतिक जोड घटाउ हावी भएर नै हो भन्ने गरिन्छ । नेपालमा केही गर्न खोज्ने र बिगार्ने काममा पनि उद्धत्त राजनीतिक दलहरु नै हुन् ।
जे होस अब भेरी नदीको करिब ६० प्रतिशत पानी सुरुङ मार्ग भएर बबई नदीमा मिसिने कुरामा कुनै शंका छैन । यसका लागि चिफ्लेमा १६ मिटर अग्लो बाध बाँधिने र मेहेलकुना बजारसम्म करिब सात किलोमिटरको जलाशय बन्ने भएको छ । यो जलाशयले भेरी नदीको दक्षिणी भागभन्दा पनि उत्तरी भेगका उर्वरा भूमि छोप्ने र कृषि उपजमा प्रतिकूल प्रभाव पर्ने देखिन्छ । जे भए पनि राम्रो कामका लागि जतिसुकै क्षति भए पनि स्वीकार गर्नै पर्ने अवस्था यो योजनाले ल्याइदिएको छ । धैर्य गर्नसक्ने क्षमता त्यस क्षेत्रका बासिन्दाहरुमा रहेको पनि छ ।
अब आउँछ भेरी डाइभर्सनको जलाशयको दुवैतर्फको विकासका लागि के गर्न सकिन्छ । अनि कसरी त्यस क्षेत्रका बासिन्दाहरुको आर्थिक क्षेत्रमा समृद्धि ल्याइ उनीहरुको जीवनस्तर उठाउन सकिन्छ ? भेरी डाइभर्सनको सफलतासँगै प्रमुखरुपमा जोडिएको अहम् सवाल यो बन्न गएकोछ । योजनाविद्हरु र राजनीति गर्नेहरुले यस सम्बन्धमा सोच बनाएका छन् वा छैनन् तर मेरा विचारमा यद्यपि अहिले यो योजना महत्त्वाकांक्षी देखिनसक्छ तर त्यस क्षेत्रका बासिन्दाको हितका लागि अनिवार्य सर्त जस्तै केही योजना सञ्चालन गर्न सकिने कुरा मैले ठम्याएको छु जो यस प्रकार छन् :
१.लेखफर्सा—भेरीगंगा नगरपालिका बीचको चिफ्लेमा बन्ने बाँधसँग बनिने पक्कीपुलदेखि सुवाघाट गंगामाला नगरपालिकाको मेहलकुना—घुमखहरे जोड्ने पक्की पुलसम्म दुवैतर्फ कम्तीमा पनि तीन किलोमिटर भूभाग छोडेर पक्की रिङ्गरोड तयार गर्ने अथवा हाल भइरहेका सडकहरुलाई रिङ्गरोडको रुपमा विकसित गर्ने ।
२. रिङ्गरोडको दुबै किनारमा व्यापारिक र औद्योगिक बस्ती बसाल्ने त्यसका लागि नमूना सहरको गुरु योजना तयार गर्ने ।
३. भेरी नदीको जलाशयको दुवैतर्फको रिङ्गरोड किनारलाई औद्योगिक सहरको रुपमा विकास गरेर व्यवसाय तथा रोजगारीको अवसरको विकास गर्ने र प्रदेश न. ६ को औद्योगिक सहरको रुपमा विकास गर्ने ।
४.भेरी नदीको जलासयमा माछापालन गर्ने र स्थानीय जनताको आय आर्जनमा टेवा पुर्‍याउने ।
५.जलाशयको दुवै किनारमा जलाशयबाट वाटर लिफ्ट गरी सिजनल र अफसिजनल तरकारी तथा नगदेबाली लगाउने र हरित क्रान्तितर्फ कृषकलाई अभिप्रेरित गर्ने ।
६.पायक पर्ने ठाउँमा कृषि विश्वविद्यालय र विभिन्न विधाका कलेजहरु स्थापना गर्ने र कृषि अनुसन्धान तथा परीक्षणमा मुलुककै कृषि क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गराउने । बीउ बिजन उत्पादन, छनोट, भण्डारण, वितरण र प्रदेशका लागि कृषि अनुसन्धानतर्फ उत्प्रेरित गर्न प्रदेशका विभिन्न ठाउँमा पकेट क्षेत्र निर्धारण गर्ने ।
७. दुग्ध उत्पादनका लागि उन्नत जातका पशुपालन गर्ने र दूध तथा दुग्धजन्य वस्तु मखन, घ्यूउ, दूध दही, चीज, पनिर आदि उत्पादन गरेर पैठारी प्रवद्र्धन गर्ने ।
८.स्थानीय तहमा आर्थिक दृष्टिले सक्षम एवम् लगानी गर्नसक्ने सबैलाई आय आर्जनतर्फ प्रेरित गर्ने र लगानी गर्न नसक्नेहरुका लागि रोजगारीका लागि प्रमुख प्राथमिकता प्रदान गर्ने । तर सो सम्भव नभएमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आमन्त्रण गर्ने ।
९.सहरी, औद्योगिक तथा कृषि उपज केन्द्रको रुपमा त्यो क्षेत्रको विकास सँगै वरीपरिका क्षेत्रहरु जोड्ने सम्पर्क सडकहरु निर्माण गर्दै जाने र सेटलाईट केन्द्रका रुपमा त्यसक्षेलाई स्थापीत गर्ने ।
१०. र्‍याफ्टिङ्गको समुचित व्यवस्था गर्ने ।
११. तारे होटलहरु बनाउने र पर्यटक भित्र्याउने ।
१२. हरेक दुई किलोमिटरको दूरीमा पक्की पुल निर्माण गर्ने र जलाशयको दुवैतर्फ अत्याधुनिक र फराकिला तथा हाइस्पिड सडकहरु निर्माण गर्ने ।
१३. सम्भावित स्थानको छनौट गरी फलफूल खेती गर्ने ।
१४. फ्लोरिकल्चरतर्फ कृषकहरुलाई अभिप्रेरित गर्ने ।
१५. अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र प्रदेश न. ५ र ७ सँग प्रत्यक्ष जोड्न सडक यातायात र सडक सञ्जाल तयार गर्ने ।
यी र यस्तै किसिमका योजनाहरु पनि आपसी अन्तरक्रिया तथा छलफलबाट थप गर्न सकिन्छ र जतिसक्यो धेरै सम्भावनाहरुको खोजी गरेर त्यस क्षेत्रको उन्नति गर्न सकिन्छ सुन्दर भविष्यको परिकल्पना गर्न सकिन्छ जो भोलिका दिनमा वास्तविकतामा परिवर्तन हुन लामो समय कुर्नु पर्दैन । सुर्खेतको पूर्वी क्षेत्रको सुन्दर भविष्य सुर्खेत जिल्लाको मात्र नभएर प्रदेश न. ६ को आर्थिक विकासको कोशे ढुङ्गा सावित हुन सक्छ । भौतिक रुपमा थप अन्य उपलब्धीमूलक कार्यक्रमहरु भित्र्याउने र पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने योजना तर्जुमा गर्न सकिन्छ ।
यसका साथै त्यस क्षेत्रमा जमिन पर्याप्त भएकाले विभिन्न धर्मावलम्बीहरुको धार्मिक केन्द्रको रुपमा विकास पनि गर्ने । टुरिज्मका र हिन्दुइज्म मात्र नभएर सर्वधर्मकेन्द्र बनाएर आपसी सद्भाव कायम गर्ने केन्द्रको रुपमा पनि विकास गर्ने योजना बनाउने । भेरी नदीले बनाएका नदी दुवै किनारका समथर र उर्वर भूमिले खाद्यान्नका क्षेत्रमा त्यस क्षेत्रका मानिसहरुलाई आत्मनिर्भर बनाएको मात्र नभई विभिन्न क्षेत्रबाट बसाईं सरेर त्यस क्षेत्रमा आएका विभिन्न भाषिक, सांस्कृतिक, जाती, धर्म, रीतिरिवाज तथा परम्पराका समुदायहरुलाई एक सुत्रमा बाध्ने काम गरेकोछ । यसरी माथि उल्लेखित परिकल्पनालाई यथार्थमा रुपान्तरण गर्ने किसिमले योजनावद्ध ढंगले काम गर्न सकियो भने यो प्रदेश उदाहरणीय बन्न सक्छ अन्य प्रदेशका लागि पनि ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share