नदी सफाइ र संरक्षणका लागि विशेष कार्ययोजना ल्याइने
२० कार्तिक २०७३, शनिबार १४:५०काठमाडौँ, २० कात्तिक । वाग्मती सफाइ महाअभियानको नेतृत्व गरी काठमाडौँ उपत्यकाका प्रमुख नदीलगायत देशभरका प्रमुख नदी सफाइमा प्रेरणा प्रदान गरेकामा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई अभिनन्दन गरिएको छ ।
पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पौडेललाई अभिनन्दन गर्दै उपत्यकाका नदी सफाइ र संरक्षणका लागि सरकारले विशेष कार्ययोजना ल्याउने जानकारी दिए ।
सांसद रामेश्वर फुयाँल र दीपक कुइँकेलले अधिकारसम्पन्न वाग्मती आयोजनाले गोकर्णदेखि गुह्येश्वरीसम्म वाग्मतीको दायाँबायाँ सडक निर्माण गर्दा स्थानीयवासीको जग्गा नदी एवम् सडकमा परेकाले त्यसको क्षतिपूर्तिस्वरुप मुआब्जा वितरण गरिनुपर्ने माग गरे ।
अभिनन्दित व्यक्तित्व पौडेलले उपत्यकालगायत देशभरका नदी सफाइ अभियान पछि पनि सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे। अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले वाग्मती किनारमा हरियाली प्रवद्र्धन गर्ने अभियानमा लागिएको जानकारी गराए । रासस