बुधबार, माघ ५, २०७८

धान रोप्ने समयमा नहर अवरुद्ध

११ असार २०७३, शनिबार ०८:४७

वालिङ, ११ असार ।

स्याङ्जाको दक्षिण पूर्वी चापाकोट नगरपालिकामा सञ्चालित चापाकोट टार सिँचाइ योजनाको नहर पहिरोका कारण अवरुद्ध हुँदा किसान समस्यामा परेका छन् ।

हिउँदमा समेत सिँचाइ गर्न नपाएका यहाँका किसान वर्षायामको सुरुवातसँगै नहरको विभिन्न स्थानमा गएको पहिरोले झन चिन्तित भएका हुन् ।

“पुनःनिर्माणकै लागि भन्दै गएको हिउँदमा पानी बन्द गरिएको थियो” चापाकोट टार सिँचाइ योजनाका अध्यक्ष तीर्थराज बरालले भन्नुभयो, “अहिले धुर्कोटबेँसीस्थित आठ किमी क्षेत्रभित्र नहर पुरिनुका साथै तल्लोभाग बगेर गएको छ भने दामाचौरमा झन्डै १५० मिटर वाल पहिरोले बगाएको छ ।”

स्याङ्जाको मल्याङ्कोट गाविसमा रहेको दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर लामो नहरमार्फत ल्याएको पानीले चापाकोट नगरपालिकासहित मल्याङ्कोट गाविसका झन्डै एक हजार हेक्टर खेतीयोग्य भूमि सिञ्चित हुने गरेको छ ।

“उपभोक्ताले आर्थिक सङ्कलन गरेर मात्रै पनि यो मर्मत हुने अवस्था छैन” अध्यक्ष बरालले भन्नुभयो, “अहिले नहरको पानीले बीउ राख्न नपाए पनि अलि कति ढिलो गरी सम्भवतः साउनको अन्तिम सातातिर नहर सञ्चालनमा आउन सक्छ ।”

विसं २०२२ मा निर्माण सुरु गरिएको उक्त योजनाबीचमा काम रोकिएर पुनः २०४४ सालबाट सुचारु गरी २०४९ सालदेखि पानी हाल्न सुरु भएको अध्यक्ष बरालले बताए ।

पुरानो नहर जीर्ण बन्दै गएपछि एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारबीच नहरको पुनःनिर्माणका लागि झन्डै रु १९ करोड ६८ लाखको सम्झौता भएको थियो ।

जिल्ला सिँचाइ डिभिजन कार्यालय स्याङ्जाका प्राविधिक प्रमुख रमेशबन्धु अर्यालको नेतृत्वमा इन्जिनियरको टोलीले पहिरोले क्षतिग्रस्त नहरको अवलोकन गरेको छ ।

अर्यालले नहर मर्मतका लागि आवश्यक कदम चाल्न पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ कार्यालय पोखरामा अनुरोध गरेको र निरीक्षणका लागि टोली आउने जानकारी योजनाका अध्यक्ष बरालले गराए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share