देउसीको रकम आमा शिक्षा कार्यक्रमलाई
२२ कार्तिक २०७३, सोमबार ०९:३०बागलुङ, २२ कात्तिक । तिहार पर्वका अवसरमा देउसी खेलेर आमा शिक्षा कार्यक्रमको लागि आर्थिक जोहो गरिएको छ ।
ग्रामीण विकास मञ्च अधिकारीचौर, बागलुङले कार्यक्रमको निरन्तरताको लागि खेलेको देउसीबाट रु एक लाख २० हजार सङ्कलन गरेका छ ।
मञ्चले गत वर्षदेखि ‘शिक्षित आमा, शिक्षित सन्तान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम चलाउन आर्थिक अभाव भएपछि देउसी खेलेर रकम जुटाइएको मञ्चका अध्यक्ष उमेश बुढाले बताए ।
सरकारी र अन्य क्षेत्रबाट समेत अनुदान, सहयोग नआएपछि मञ्चले स्रोत जुटाउन देउसीको उपाय अपनाएको उनको भनाइ छ । सामाजिक रुपान्तरणको लागि मञ्चले स्वयम्सेवी रुपमा क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
गत वर्ष पनि मञ्चले चन्दा सङ्कलन गरेर स्थानीय रेडियोबाट आमा शिक्षासम्बन्धी कार्यक्रम प्रसारण गरेको थियो । “शिक्षामा सबै नागरिकको पहुँच पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएका छौँ” अध्यक्ष बुढाले भने “शिक्षित नागरिक हुनका लागि हाम्रा सन्तान शिक्षित हुनुपर्छ ।”
यो वर्ष पनि गाविसभर आमा साक्षरता कार्यक्रम, आमा शिक्षा रेडियो कार्यक्रम र रेडियो नाटक उत्पादन र प्रदर्शन गर्ने लक्ष्य मञ्चले लिएको छ । देउसी खेलेर सङ्कलन भएको रकम सोही कार्यक्रमका लागि खर्चने योजना मञ्चको छ । वर्षभरि कार्यक्रम चलाउन रु पाँच लाख चाहिने भएकाले अपुग रकम जुटाउन आर्थिक सहायता अभियान समेत सुरु गरिएको छ । रासस