देउवा र दाहालबीच भेटवार्तासहमतिको सरकारलाई सहयोग गर्न नसक्ने कांग्रेसको जवाफ
२७ असार २०७३, सोमबार १७:५८काठमाडौं । सरकार गठनका बिषयमा बर्तमान सरकारमा रहेको दोश्रो ठुलो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा भेटवार्ता भएको छ । दाहाल सोमबार अपरान्ह करिब साढे ३ बजे सिहंदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग सरकार गठनका लागि सहयोग र समर्थनको आग्रह गर्न पुगेका थिए ।
दाहालले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहयोग गर्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गरेको छ। कांग्रेस सभापति देउवाले आफ्नो दलले दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन गर्न नसक्ने जानकारी गराएको बताइएको छ । सभापति देउवाले भने– ‘प्रधानमन्त्री ओलीसँग हाम्रो कुनै दुश्मनी त छैन नि । राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि तपाईँलाई हामीले समर्थन गर्ने कुरा सम्भव छैन।’
पार्टी सभापतीसँग भेटगरी माओवादी अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थनका लागि आएको तर सभापति हुँदैन भनेको भेटमा सहभागि नेता बिमलेन्द्र नीधिले जानकारी दिए । दुई नेताका बीचमा करिब २५ मिनेट छलफल भएको थियो । ‘यसअघि नै राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा एमाले अध्यक्ष ओलीले हामीलाई आग्रह गर्दै सरकारमा सहभागी हुन र सहयागो गर्न आग्रह गरेका थिए। तर, हामीले उनको आग्रहलाई अस्विकार गरेको अवस्थामा कांग्रेसले अहिले फेरि तपाईँको आग्रह स्वीकार गरी समर्थन दिनुको कुनै औचित्य छैन,’ देउवाको भनाई उदृत गर्दै नेता निधिले भने।
ओलीलाई समर्थन नगर्ने कांग्रेस नेतृत्वले माओवादी नेतृत्वको आग्रह स्वीकार्दै समर्थन गर्ने कुरा हुन नसक्ने स्पष्ट पार्दै देउवाले भने, ‘प्रधानमन्त्री ओलीसँग हाम्रो कुनै दुश्मनी त छैन नि।’ आजै माओवादी नेता कृष्णबहादुर महरा र नेता नीधिका बीचमा भेटवार्ता भएको थियो । सो लगतै संसदीय दलका नेता देउवाको सचिवालयमा झण्डै २ घण्टा लामो समय निधिसँग कुराकानी गरीसकेपछि महराले अध्यक्ष प्रचण्डलाई देउवासँगको भेटवार्ताका लागि त्यही आउन आग्रह गरेका थिए। प्रधानन्यायाधीश शुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको पद तथा गोपनियताको सपथ ग्रहण लगायतका कार्यक्रममा सहभागी भए लगत्तै अपरान्हको खाना खाएर देउवा दलको कार्यालयमा पुगेका थिए। कांग्रेसका नेता निधि, रमेश लेखक, माओवादी नेता महरा तथा वर्षमान पुन पनि उपस्थित थिए।