आइतवार, असार १९, २०७९

दुर्घटनापछि भाग्दा सावधान ! ट्राफिक घरसम्मै पुग्छ

२७ असार २०७३, सोमबार ०७:२४

काठमाडौ २७ असार- तपाईं उपत्यकाका भित्री सडकमा दुर्घटना गराएर भाग्दै हुनुहुन्छ भने सावधान ! चोकचोकमा राखिएका सीसीटभीले तपाईंका क्रियाकलापलाई नियालिरहेका छन् । तपाईंको सवारीसाधनको रङमात्रै पत्ता लागेमा पनि ट्राफिक प्रहरीले समात्नेछ ।

राजधानीको घन्टाघर नजिकै गत असार १८ मा दुर्घटना गराएर नम्बरसमेत नखुलेको मोटरसाइकललाई सीसीटीभीकै अधारमा ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । अचम्म कुरा त मोटरसाइकल चालकले अर्को मोटरसाइकलपछाडि बसेकी महिलाको ब्यागसमेत लतारेर लगेका थिए । सुरुमा सीसीटीभीमा रातो रङको डबल साइलेन्सर भएको मोटरसाइकल मात्रै देखिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गले यातायात व्यवस्था कार्यालयमा गएर रेकर्ड हेर्दा १८ गतेमात्रै ब्रिटिस एज कम्पनीको तीनवटा कम्पनीको मोटरसाइकल दर्ता भएको पत्ता लगायो । तीनवटै मोटरसाइकल धनीका बारेमा अनुसन्धान गर्दा बा ७५ प ७१८३ नम्बरको मोटरसाइकल दुर्घटनामा संलग्न भएको रहस्य खुल्यो ।

वृत्तका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार मोटरसाइकल धनी डिल्लीबजार बस्ने मोहम्मद रमिज नामका व्यक्ति रहेको रहस्य खुले पनि उनको सम्पर्क गर्ने आधार खोज्न थाल्यो प्रहरीले । सम्पर्क नम्बर खोज्न ट्राफिक प्रहरी रमिजको नाम लिएर नेपाल टेलिकमको कार्यालय पुग्यो ।

रमिजले सिमकार्ड लिएको नम्बर फेला परेपछि उनको मोबाइलमा ‘तपाईंले दुर्घटना गराएको घटना प्रहरीमा दर्ता भएको छ, सम्पर्क गर्नुहोला होइन भने कानुनी प्रक्रियामा जानुपर्छ’, सन्देश पठायो ट्राफिक प्रहरीले । त्यति गर्दा पनि रमिज प्रहरी सम्पर्कमा आएनन् । बरु उनले फोन कल डाइभर्ट सिस्टममा राखे ।

फोन नम्बरको लोकेसनका आधारमा प्रहरी रमिजको घरमै पुग्यो । अभिभावकलाई भेटेर रमिजलाई प्रभाग दरबारमार्गमा पठाउन ट्राफिक प्रहरीले आग्रह गरे । रमिज ट्राफिक कार्यालय पुगेर कसुर स्वीकार गरे । घटना थियो, रमिजले हाँकेको मोटरसाइकलले भक्तपुर दुवाकोटका रविन खड्काले हाँकेको मोटरसाइकललाई ठक्कर दिएर पछाडि बसेकी उनकी पत्नीको ब्याग लतारेर लगेको ।

उक्त ब्यागमा सुनको सिक्री, औंठी र दुईवटा आइफोन थिए । ‘प्रहरी बयानमा रमिजले उक्त ब्याग आफूले पनि नलगेको जनाए पनि उनले गल्ती स्वीकार्दै तीन लाख क्षतिपूर्ति तिरे । यो घटनाको उठान र अनुसन्धान सबै सीसीटीभीकै आधारमा भएको हो’, निरीक्षक शाहले भने ।

प्रहरीले यो घटना अनुसन्धानका लागि घन्टाघर, भोटाहिटी र जमलको सीसीटीभी फुटेको विश्लेषण गरेको थियो ।
सीसीटभीकै आधारमा पैदलयात्रीको ज्यान लिएर फरार कार चालकसमेत नियन्त्रणमा लिएको जानकारी शाहले दिए । उनका अनुसार गत वैशाख ३ मा खानी विभागबाट महाराजगन्जतर्फ गइरहेको बा २ च ३८१८ नम्बरको कारले भारतीय दूतावासनजिकै लाजिम्पाटमा पैदलयात्री काठमाडौं महानगरपालिका–२९ का राजु खड्कालाई ठक्कर दिएर भागेका थिए ।
प्रहरीले उक्त कार ठम्याउन लाजिम्पाटदेखि पानीपोखरी, नारायणगोपाल चोकमा राखिएका सीसीटीभी हेरेको थियो । गाडी नारायणगोपाल चोकबाट बूढानीलकण्ठतर्फ लागेको देखिएपछि गाडी नम्बरका आधारमा तीन दिनपछि होटलमा बसिरहेका कारचालक रोशन मगरलाई पक्राउ गरेको थियो । प्रभागले घटना अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे प्रहरीको सहयोग लिएको थियो ।

अर्को घटना गत जेठ ३ मा लैनचौरबाट केशरमहलतर्फ आइरहेको मोटरसाइकलले स्कुटी चालकलाई ठक्कर दिएको थियो । स्कुटी चालक तीन बल्ड्याङ खाएकी थिइन् । त्यति बेला रातो रङको दुई सय २० सीसीको रातो पल्सर र ९६४० नम्बर मात्रै भएको खुलेको थियो । ट्राफिक प्रहरी वृत्त दरबारमार्गले घटना अनुसन्धानका लागि केशरमहलको सीसीटीभी हेर्दा बा ५७ प लटको मोटरसाइकल रहेको खुल्यो । अल्फाबेट र नम्बर खुलेपछि प्रहरीले सोह्रखुटेबाट मोटरसाइकल चालक समीर थापालाई पक्राउ गर्‌यो । पीडित महिला ट्राफिक प्रहरीमा उजुरी गर्न हालसम्म आएकी छैनन् ।

वृत्तका प्रमुख शाह भन्छन्, ‘अब चालकले दुर्घटना गराएर भाग्छु भन्ने नसोचे पनि हुन्छ । सीसीटीभीका माध्यमबाट गाडीको रंगमात्रै थाहा पाए पनि समाउन सजिलो भएको छ ।’

दरबारमार्ग वृत्तले महिनामा पाँचवटा ट्याक्सीमा समान छुटेका घटनाको अनुसन्धान गरेर सीसीटीभीकै आधारमा पत्ता लगाउँदै आएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी नरेशमान श्रेष्ठले उपत्यकामा सीसीटीभीको प्रभावकारिता बढेको बताउँछन् । उपत्यकाका कुल दुई सय ४१ वटा सीसीटीभी छन् । ‘सवारी दुर्घटनाका लागि बढी सहयोगी बनेको छ सीसीटीभी । यसका साथसाथै चोरी, लुटपाट, भीआईपीको सुरक्षा निगरानी, राजनीतिक गतिविधिको निगरानीलाई समेत सीसीटीभी बढी सहयोगी बनेको छ’, एसपी श्रेष्ठले भने ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share