दातृ निकायको सहयोगमा विद्यालय भवन निर्माण हुँदै
२२ कार्तिक २०७३, सोमबार ०९:३६कञ्चनपुर, २२ कात्तिक । दातृ निकायको सहयोगमा कञ्चनपुरको अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा तीन कोठे भूकम्प प्रतिरोधी भवन निर्माणको कार्य सुरु गरिएको छ ।
विल्वन नामक गैरसरकारी संस्थाको रु २२ लाख र विद्यालयको आन्तरिक कोषबाट रु १० लाख गरी रु ३२ लाखको लागतमा विद्यालय भवन निर्माणको कार्य सुरु गरिएको हो ।
“विद्यालयको भवनको जग राख्ने र पिल्लर ठड्याउने कार्य सुरु गरेका छौँ” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर साउदले भने । विद्यालयसँग पर्याप्त कक्षा कोठा नहँुदा एउटै कक्षामा धेरै कक्षाका विद्यार्थीलाई बहु शिक्षण विधिद्वारा पठनपाठन गरिँदै आएको थियो उनले भने, “भवन निर्माण भएपछि कक्षा कोठाको अभाव पूर्ति हुन्छ ।”
निर्माणाधीन भवनमा तीन कोठा, एक बरन्डा र शौचालय निर्माण हुने छ । विसं २०४२ मा स्थापना भएको विद्यालयमा ७०० बढी विद्यार्थी अध्ययनरत छन् । रासस