तीनवटै दल एक ठाउँमा आउनुपर्ने : गगन
२६ जेष्ठ २०७३, बुधबार ०७:४७मुगु, २६ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तथा संविधानमा व्यवस्था भएअनुसार स्थानीय, संसदीय तथा राष्ट्रिय गरी तीनवटै निर्वाचन पूरा गर्न डेढ वर्षको समय सीमा भएकाले निर्धारित समय सीमाभित्र तीनवटै निवार्चन हुन नसके देश गम्भीर अवस्थामा फस्ने भएकाले देश लाई बचाउनका लागि नेपालका मुख्य तीन राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति मुगुको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्न मङ्गलबार मुगु आइ पुगेका थापाले उक्त धारणा राखेका हुन् । मधेसी दलका जायज माग पूरा गरी उनीहरुलाई पनि विकासको मूलधारमा ल्याउनुपर्ने बताउँदै केन्द्रीय सदस्य थापाले प्राकृतिक साधन, स्रोतले समृद्घ राराको पर्यटन विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक भएकाले त्यसतर्फ आफू लागिपर्ने समेत बताए । रासस