ताक्लाकोटमा सीमा वार्ता सुरु
७ असार २०७३, मंगलवार १८:०२हुम्ला, ७ असार । नेपाल र तिब्बत स्वशासित क्षेत्रका अधिकारीहरुबीच मंगलबार देखि सीमावर्ती क्षेत्र ताक्लाकोटमा वार्ता सुरु भएको छ ।
वार्तामा नेपालका तर्फबाट हुम्लाका प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे, स्थानीय विकास अधिकारी बलदेव जोशी, प्रहरी वरिष्ठ उपरीक्षक बिष्णुहरि गौतम, प्रहरी नायव उपरीक्षक त्रिलोकबहादुर चन्दलगायतको सहभागिता रहेको छ । टोलीले त्यहाँको प्रतिनिधिमण्डलसँग नेपाललाई तिब्बत जनसरकारबाट उपलब्ध गराउँदै आएको खाद्यान्न सहयोग र चरनका विषयमा छलफल गर्नेछ ।
यस्तै, नेपाली नागरिकलाई नागरिकताकै आधारमा कैलाश मानसरोवर जान पाउने अनुमति दिन तिब्बतेली पक्षसामु प्रस्ताव राखिने बताइएको छ । रासस