मङ्लबार, असार २१, २०७९

तमोर नदी थुनिएर बनेको ताल तत्काल नफुट्ने अध्ययन टोलीको निष्कर्ष

३० असार २०७३, बिहीबार ०६:४६

ताप्लेजुङ, ३० असार । सावादिन–१ स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपूर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

गत शनिबार बिहान झरेको पहिरोले नदी थुनिएर खतरा बढ्दै गएपछि तीन दिनपछि  पुगेको अध्ययन टोलीले तत्काल ताल नफुट्ने र अहिलेकै अवस्थामा नदीले कटान गरेर बगिरहेमा तमोर नदी किनारका बस्तीमा क्षति गर्ने सम्भावना नरहेको यहाँका निमित्त प्रजिअ सुरेन्द्रप्रसाद भट्टराईले बताए ।

अध्ययन टोलीका संयोजक एवम् जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टान आएर बसेकाले तत्कालीन अवस्थामा ताल फुट्ने खतरा नरहेको बताए ।

ताल फुटेर हुने जोखिमको तत्कालीन अवस्था अध्ययन गरी प्रतिवेदन तयार गर्न बुधबार दिउँसो १३ सदस्यीय अध्ययन टोली सो स्थानमा पुगेको थियो । टोलीमा इन्जिनियर, प्राविधिक, रेडक्रसकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्राविधिक अधिकृत सामेल रहेका थिए ।

हाल जमेको पानीबाहेक अब जम्मा हुने अवस्था नरहेको र आएजति पानी निकास हुनसक्ने भएकाले जोखिम नरहेको अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनपछि टोलीले नदी किनारका स्थानीयवासीलार्ई नआत्तिन तर सचेत भने रहन आग्रह गरेको छ ।

भौगोलिक विकटताका कारण अध्ययन टोलीले तालको पानीलाई तत्कालै बगाउने अवस्था नरहेको समेत बताएको छ । यस्तै अध्ययन टोलीले पानी जमेर बनेको तालको लम्बाइ ३५० मि र चौडाइ १२० मि साथै १५ मि गहिराइ रहेको जनाएको छ । तालमा अनुमानित छ लाख ३० हजार घनमिटर पानी जम्मा भएको हुनसक्ने अनुमान छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share