मङ्लबार, माघ ११, २०७८

डोटीमा खप्तड रङ्गशाला बन्दै

९ असार २०७३, बिहीबार ११:००

डोटी, ९ असार । डोटीमा खेलकुद मैदानको निर्माण कार्य सुरु भएको छ । दीपायल सिलगढी नगरपालिकाको जगेडा कोषको ५० लाख रकमबाट उक्त खेल मैदान बन्न लागेको बताइएको छ ।

डोटी उद्योग वाणिज्य सङ्घको अगुवाइमा खेल मैदान निर्माणको कार्य सुरु भएको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष नरेन्द्र खड्काले बताए । ठूलो सङ्घर्षका साथ विनियोजित गराइएको उक्त ५० लाख रकमको सदुपयोग गरी सीमित लगानीमा बढी काम गर्ने उद्देश्यका साथ निर्माण कार्य थालनी गरेको सङ्घका अध्यक्ष खड्काको भनाइ छ ।

निर्माण हुन लागेको खेल मैदानको चौडाइ सय मिटर र लम्बाइ १५० मिटर रहने खड्काले बताए । खेल मैदान निर्माणको काम तीव्रगतिमा भइरहेको र असार भित्रै सक्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष खड्काले बताए ।

डोटीमै पहिलोपटक बन्न लागेको खेलकुद मैदानका निम्ति सबै पक्षबाट सहयोग प्राप्त भएको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपक खड्काले बताए  । पहिलोपटक खेल मैदान बन्ने भएपछि स्थानीय खेलप्रेमी तथा खेलाडी निकै हर्षित बनेका छन् । अब खेल मैदान खोज्नका निम्ति खर्चिनुपर्ने समय टरेको छ, स्तरीय खेलमैदान बन्दा हरेक खेल खेलाउन सहज हुने स्थानीय खेलप्रेमी राजु खड्काले बताए ।

क्षेत्रीय सदरमुकाममा यसअघि खेलमैदान नहुँदा खेलाडी गहुँ, धान काटेका खेत, खोलाका किनार तथा कसैको निजी जमिनमा खेल्न बाध्य बनेका थिए । अब यस्ता दिन टरेका छन् ।

अब केही समयमै गहुँ, धान काट्न पर्खिनुपर्ने छैन र उच्चस्तरको खेलमैदानमा यहाँका खेलाडी खेल खेल्न पाउनेछन् । स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका खेलको समेत आयोजना गर्न सकिने उद्योग वाणिज्य सङ्घ डोटीले जनाएको छ । बन्दै गरेको खेल मैदानको नाम खप्तड रङ्गशाला राखिने सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share