डणपुर पहिरो नियन्त्रण गर्न गुरुयोजना
३० असार २०७३, बिहीबार ०९:१२बैतडी, ३० असार । बैतडीको मल्लादेही गाविसमा रहेको डणपुर पहिरो नियन्त्रणका लागि गुरुयोजना निर्माण गरिएकोे छ ।
पहिरोले धेरै धनजनको क्षति भएपछि यो वर्ष जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर २४ पाटन, बैतडीले पहिरो नियन्त्रणका लागि गुरुयोजना निर्माण गरेको हो ।
पहिरोले पुर्याउने क्षतिलाई न्यूनीकरण गर्दै पहिरो रोकथामका लागि अपनाउन सकिने उपायका साथ गुरुयोजना निर्माण गरिएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख तेजनारायण महतोले जानकारी दिए ।
विसं २०४० देखि सुरु भएको पहिरोले ६० भन्दा बढी घरपरिवारलाई विस्थापित गरिसकेको छ भने अझै पनि मल्लादेहीका वडा नं ३ र ४ का धेरै परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । डणपुर पहिरो करीब ९५ हेक्टर जमिनमा फैलिएको छ ।
करिब रु पाँच लाखको लागतमा गुरुयोजना निर्माणको कार्य गरिएको छ । पहिरोले घरपरिवार विस्थापित गर्नुका साथै तलतिर रहेको उर्वरभूमिलाई समेत बगरमा परिणत गरेको छ । प्रमुख महतोले भने “आठदेखि १० वर्ष लगातार पहिरो नियन्त्रणका कार्य जारी राख्ने हिसाबले गुरुयोजना निर्माण गरिएको छ ।”
यसैबीच, यो वर्ष पहिरो नियन्त्रणका लागि सो ठाउँमा तारजाली भर्ने र ग्याबियन वाल लगाउने काम सम्पन्न गरिएको छ । करिब रु ४३ लाख बराबरको काम भएको डणपुर पहिरो नियन्त्रण समितिका अध्यक्ष गोपाल साउदले जानकारी दिए ।
पहिरोको तलतिरबाट पहिरो नियन्त्रणका लागि प्रयास थालिएको छ, उनले भने “सो ठाउँमा वृक्षारोपण गर्ने योजना समेत रहेको छ ।” रासस