बिहिबार, माघ १३, २०७८

ज्यानको बाजी थापेर भिर महको जोहो

१९ असार २०७३, आईतवार १४:२४

जुम्ला, १९ असार ।

रोकायावाडा–२ मुल्सामका कृष्णबहादुर शाही यतिबेला भिर मह बेच्न व्यस्त छन् । भिर मह सङ्कलन गर्नु निकै जोखिमपूर्ण मानिन्छ । भिरमा मौरीले निर्माण गर्ने मह र यसको चाका ल्याउन सबैले सक्दैनन् । भिरमा रेजु (डोरी) र त्यसको बीच बीचमा काठ हाली मुखमा मुकुन्डो, हातमा पञ्जा लगाएर भिर मौरीको मह सङ्कलन गरिन्छ ।

“साहस गर्न नसक्नेले भिर मह सङ्कलन गर्न सक्दैनन्,” शाहीले भन्नुभयो । बर्सेनि मुल्सामका विभिन्न ठाउँमा भिर मह सङ्कलन गरिन्छ । सङ्कलन गरिएको मह जुम्ला, जाजरकोट, दैलेख, कालिकोट र सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्न लैजाने गरेको शाहीले बताए ।

यतिबेला शाहीले ६० किलो भिर मह बिक्री गर्न जिल्लाका विभिन्न ठाउँमा पु¥याउनुभएको छ । उनले उक्त मह प्रतिकिलो रु एक हजारमा बिक्री गरिरहनुभएको छ । रक्तचाप, मुटु दुख्नेलगायत रोगको उपचारमा भिर महको प्रयोग गरिन्छ । असार महिनाभरीमा रु ६० हजार आम्दानी गर्ने शाहीको लक्ष्य छ ।

वैशाख र जेठमा जोखिम मोलेर भिर मह सङ्कलन गर्ने गरेको रोकायावाडा–२ कै अर्का मह व्यापारी टेकबहादुर बोहोरा बताउनुहुन्छ । यस क्रममा कतिपयले ज्यान समेत गुमाएका छन् । भिर मह सङ्कलन गरी स्थानीयले छोराछोरीलाई पढाइको खर्च जुटाउँदै आएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share