जनश्रमदानबाट सामुदायिक स्वास्थ्य भवन
२८ असार २०७३, मंगलवार ०८:५७रामपुर (पाल्पा), २८ असार । स्थानीयको जनश्रमदानबाट बालिघाटमा सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण भएको छ ।
स्वास्थ्य क्षेत्रको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयको पहलमा सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण भएको अध्यक्ष पदमबहादुर विकले बताए ।
लुम्बिनी पर्यटन विकास कोषको रु सात लाख र १०० जना स्थानीयले दुई दिनसम्म श्रमदान गरेर सो भवन निर्माण सम्पन्न भएको हो ।
यस सामुदायिक स्वास्थ्य एकाइ भवनबाट सामान्य उपचार, खोप सेवा, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरिने अहेब वीरबहादुर बिसीले जानकारी दिए ।
यस स्वास्थ्य भवनबाट नवलपरासी, पाल्पा र तनहुँका छ गाविसका झन्डै २० हजार जनता लाभान्वित हुनेछन् । रासस