‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने
२० जेष्ठ २०७३, बिहीबार १९:२८काठमाडौँ, २० जेठ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ ।
यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका छन् । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिएका छन् ।
नायिका पनेरुले खेलेको पहिलो चलचित्र ‘जिस्म’ प्रदर्शनमा नआइकनै विवादमा आएकाले ‘छेस्को’लाई पनि चलचित्र सेन्सर बोर्डले ‘पास’ गर्न समय खर्चिएको थियो । चलचित्रका वितरकसमेत रहेका नायक श्रेष्ठ यो चलचित्रलाई पूर्ण पारिवारिक भएको बताउँदै भने “यो मनोरञ्जनात्मक पूर्ण पारिवारिक कथा बोकेको चलचित्र हो । बाबुआमाले छोराछोरीका हरेक कुरामा ध्यान दिनुपर्छ भन्ने यसले सन्देश दिन्छ ।” उनले छेस्को सानो सिन्को भएपनि यो खुट्टामा बिझाउने घाउ हो, बिझाउनेलाई मात्र थाहा हुने चलचित्र हेरेपछि दर्शकले महसुस गर्ने बताए ।
शुक्रबार एउटा मात्र चलचित्र चल्ने र कोही प्रतिस्पर्धामा नहुने भएकाले पनि निर्माण पक्ष उत्साहित भएको बताइएको छ । साथै यसबाट उठेको १५ प्रतिशत रकम अनाथ बालबालिकालाई सहयोग गरिने नायक श्रेष्ठले जानकारी दिए ।
चलचित्रमा पूजना प्रधान, पवित्रा आचार्य, सृष्टि सेन्चुरी, रवीन वैद्यलगायत कलाकारको समेत अभिनय छ । रासस