मङ्लबार, माघ ११, २०७८

चेपाङ स्वायत्त क्षेत्र माग

१२ असार २०७३, आईतवार ०७:३२

चितवन, १२ असार । नेपाल चेपाङ सङ्घको चौथो राष्ट्रिय महाधिवेशन १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।

देश सङ्घीयतामा गइसकेको समयमा चेपाङ स्वायत्त क्षेत्र स्थापना गर्नका निम्ति सङ्घर्ष गर्ने, प्रदेश निर्माण गर्दा चेपाङ जातिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, भण्डारा–मलेखु सडकलाई चेपाङ लोकमार्ग बनाइनुपर्नेलगायतका माग गर्दै सङ्घले आफ्नो महाधिवेशन सम्पन्न गरेको हो ।

चेपाङ बाहुल्यता रहेका जिल्ला चितवन, धादिङ, मकवानपुर र गोर्खाका गाउँ विकास समितिका सङ्घीय संरचनाअनुसार चेपाङ नेतृत्व सुनिश्चित गर्न दबाब दिने, राज्य वा प्रदेशका स्थानीय निकायमा राजनीतिक नियुक्ति हुने पदमा चेपाङ समुदायबाट प्राथमिकताका आधारमा कम्तीमा एक जनाको नियुक्ति गर्नुपर्ने, सरकारी तथा गैरसरकारी निकायको रोजगारीमा आफ्नो समुदायलाई प्राथमिकतामा राखी नियुक्ति गर्नुपर्नेलगायतका माग राज्यले सम्बोधन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

महाधिवेशनले जितेन्द्र चेपाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिमायाँ चेपाङ, उपाध्यक्षमा बिलबहादुर चेपाङ, महासचिवमा आइतसिंह चेपाङ, सचिवमा बिनोदबहादुर चेपाङ र मङ्गलसिंह चेपाङ, कोषाध्यक्षमा रवीन्द्रसिंह चेपाङ रहेका छन् ।

शनिबारदेखि चितवनमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । महाधिवेशनमा चितवनसहित छ जिल्लाका दुई सय ५० जना प्रतिनिधि र एक सय ५० जना पर्यवेक्षकको सहभागिता रहेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share