आइतवार, अशोज ३१, २०७८

चार करोड सहयोगमा विद्याश्रम मावि बन्ने

२१ भाद्र २०७३, मंगलवार १२:५७

इलाम, २१ भदौ । यहाँको बरबोटे–१ तोरीबारीस्थित सप्तमाई गुरुकुल विद्याश्रम माविको भवन निर्माणका लागि भारत सरकारले रु चार करोड आर्थिक सहयोग गर्ने भएको छ । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रम निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गर्ने विद्याश्रमका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिए ।

२४ कोठा रहने भवन निर्माणका लागि दूतावासले चार करोड रूपैयाँ आर्थिक सहयोग गर्ने द्विपक्षीय सम्झौता भएको हो । विसं २०६५ सालमा स्थापित विद्याश्रममा बालकक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ११५ विद्यार्थीमध्ये आवासीय रूपमा अध्ययन गर्ने विद्यार्थी ७० छन् । नयाँ बन्ने भवन आवासीय सुविधासहितको हुनेछ ।

व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । ‘ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो’, प्रधानाध्यापक भोगेन्द्र दाहालले भने, ‘भवन बन्ने भएपछि चिन्ता हटेको छ ।’ स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केही पछि बरबोटेमा सारिएको हो । स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ ।

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो । ‘जमिनको व्यवस्थापन गरेपनि भवनको अभावले समस्यामा थियौँ’ , केन्द्रका अध्यक्ष अर्जुन थापाले भने, ‘दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।’ असोजदेखि काम थाल्ने र १५ महिनामा सम्पन्न हुने केन्द्रका अध्यक्ष थापाले जानकारी दिए । मुट्ठीदान, जजमान कोष र दाताको सहयोगबाट सञ्चालित विद्यालयमा जिल्ला शिक्षा कार्यालयले शिक्षक दरबन्दी पनि दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share