घट्यो यार्चा उत्पादन
३१ जेष्ठ २०७३, सोमबार ०९:५९डोल्पा, ३१ जेष्ठ ।
अघिल्ला वर्षसम्म रुकुमको मैकोटस्थित बुकिपाटनमा यार्चा संकलक र व्यापारीको ठूलो भीड लाग्थ्यो । संकलन गर्नेदेखि पाटनमै मोलमोलाइ हुने भएकाले भीडभाड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे हुन्थ्यो । यो वर्ष माहोल बेग्लै छ ।
यार्चा उत्पादन घटेपछि त्यहाँ बस्नेभन्दा पनि फर्किनेकै लर्को ठूलो छ । दैनिक २ सय संकलक फिरिरहेको रुकुमका डीएसपी रुपेशकुमार खड्काले बताए । मैकोटको बुकिपाटन मात्र होइन, छिमेकी जिल्ला डोल्पा गएका स्थानीयवासी पनि यार्चा नपाएपछि रित्तो हात फर्कन थालेको बताउँछन् ।
उत्पादन घटेपछि संकलक निराश
यार्चा टिप्न सुरु भएको सातामै फर्कनेको लर्को
बुकिपाटन गएका ३० प्रतिशत फर्किए
हिउँ जति पर्नुपर्ने हो, त्यति नपरेकाले पनि कम भएको हुन सक्छ’
गतवर्ष यार्चाबाटै ६० हजार आम्दानी गरेका कोलका गोकुल तुलाचन यसवर्ष नपाइएपछि दस दिनमै फर्किएको बताउँछन् । ‘दस दिनसम्म २० वटामात्र यार्चा भेटे,’ उनले टेलिफोनमा भने, ‘उता जाँदा लागेको दस हजार खर्चसमेत उठाउन सकिन ।’ यार्चा टिप्न सुरु भएको सातामै फर्कर्नेको लर्को लाग्न थालिसकेको थियो । रुकुममा यार्चा टिप्न जेठ १५ बाट पाटन क्षेत्र खुला गरिएको थियो । मैकोटमा पाइने यार्चाको प्रचारप्रसारका लागि महोत्सव नै आयोजना गरियो । महोत्सवकै बेला संकलक घटे । सिजन व्यवस्थापन समितिले संकलकका लागि ३ हजार र व्यापारीका लागि १५ हजार शुल्क
तोकेको थियो ।
यार्चा टिप्न पूर्वी रुकुमका ३० विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी रामलाल खड्का बताउँछन् । रन्मामैकोट गाविसका पुपाल, पुर्वाङ, फूलबारी, पानीढाल, माजेला, नाउरे, नयाँ वनलगायत ठाउँमा यार्चा पाइन्छ । संकलनका लागि २० भन्दा बढी गाविस र छिमेकी जाजरकोट, सल्यान, रोल्पालगायत आधा दर्जन जिल्लाबाट ५ हजारभन्दा बढी बुकिपाटन पुगेका थिए । करिब ३० प्रतिशत संकलक फर्किएको हुन सक्ने डीएसपी खडकाले बताए । यार्चा बिक्रीबाट उठेको रकमले वर्षभरको खर्च जोहो गरिन्थ्यो । यसवर्ष नपाइएपछि स्थानीय निराश छन् । ‘हिउँ जति पर्नुपर्ने हो, त्यति नपरेकाले पनि कम भएको हुन सक्छ,’ जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जैसवालले भने, ‘त्यसैले यसपालि सिजन पनि कम समय चल्ने देखिन्छ ।’
डोल्पामा गत वर्षहरूमा जेठको दोस्रो सातादेखि नै यार्चा बजारले चर्चा लिन्थ्यो । तर यो वर्ष जेठ सकिन लाग्दासमेत चहलपहल छैन । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा विभिन्न सामुदायिक वन क्षेत्रभित्रका यार्चा पाइने पाटनमा जेठ १० बाट संकलन सुरु भएको थियो । ३ साता बित्दा पनि किनमेलको कुनै चहलपहल सुरु नभएको व्यापारी ओम रोकायाले बताए ।
‘गत वर्षहरूमा हप्ता दिनमै व्यापारी बीचमा यार्चा किन्न लुछाचँुडी हुन्थ्यो,’ उनले भने, ‘योवर्ष कम पाइएकाले पनि होला, किनबेचको सुरसारै छैन ।’ यार्चा व्यापारमा मन्दी आउन सक्ने अनुमान गरिएको छ ।
गत वर्ष मूल्यमा ठूलो गिरावट आएको थियो । यो वर्ष पनि त्यस्तै हुन सक्ने डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले बताए । पाटनबाट फर्केकामध्ये केहीले लागेको खर्चसमेत नउठेको दुखेसो पोखेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
‘पोहोरको जस्तो यो वर्ष रमाइलो भएन,’ उनले भने, ‘यार्चा टिप्ने मान्छे नै आएनन् ।’ यो वर्ष यार्चा टिप्न ५ हजार २ सय ५५ जना निकुञ्ज क्षेत्रका पाटनमा प्रवेश गरेका थिए । यो संख्या गत वर्षको तुलनामा ३ गुणा कम हो ।