मङ्लबार, असार २१, २०७९

गुर्जाको क्वार्ज ढुङ्गाखानी उत्खनन हुन सकेन

२२ कार्तिक २०७३, सोमबार १५:१८

म्याग्दी, २२ कात्तिक । पश्चिम म्याग्दीको अति विकट गाविस गुर्जामा रहेको अत्यन्त महँगो ‘क्वार्ज’ नामक ढुङ्गा खानी उत्खनन हुन नसक्दा राज्यले करोडौँ रुपैयाँ गुमाउनु परेको छ ।

घुर्मखोलाअन्तर्गत गुर्जा हिमालको फेदमा रहेको सो खानी प्रयोगमा ल्याउन राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो ।

क्वार्ज ढुङ्गाको बजारमा अत्यधिक माग भए पनि सरकारले यहाँको खानी उत्खनन गर्न कुनै चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । हिरा, मोतीलगायतका महँगा धातुमा प्रयोग हुने क्वार्ज ढुङ्गाखानी उत्खनन भए सयौँले रोजगारी पाउनुका साथै देशले पनि वार्षिक लाखौँ राजस्व प्राप्त गर्ने स्थानीयवासीको भनाइ रहेको छ ।

गुर्जा गाउँबाट करिब एक दिनको दूरीमा रहेको खानी आसपासका पहाड रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको स्थानीय अगुवा झकप्रसाद छन्त्यालले बताए  । खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधि प्रयोग गरेर निकाल्ने प्रयास गरे पनि नसकेर फर्किएका थिए । क्वार्ज नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा यसलाई प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवको आकर्षणका रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पु¥याइए पनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताए  । केही वर्ष अगाडि तीन टन ढुङ्गा निकालेर बजारमा ल्याउने क्रममा प्रहरीले दरवाङमा व्यापारीलाई पक्राउ गरेर अदालतमा पेस गरेपछि उत्खननमा चासो देखाएकाहरू समेत पछाडि हटेका थिए ।

जिल्लाका विभिन्न गाविसमा तामा, स्टेल, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । प्राचीनकालमा खानी भएकै क्षेत्रमा छन्त्याल, दलितलगायतका जातजाति बसोबास गर्ने जङ्गल अहिले बस्तीमा परिणत भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share