सोमवार, मंसिर २०, २०७८

गिद्ध रेस्टुराँ अलपत्र

२० जेष्ठ २०७३, बिहीबार १६:०२

धनगढी, २० जेठ ।

लोपोन्मुख अवस्थामा रहेका गिद्धको संरक्षणका लागि कैलालीको समैची सामुदायिक वन परिसरमा स्थापना गरिएको ‘गिद्ध रेस्टुराँ’ (गिद्ध आहारा केन्द्र) अलपत्र परेको छ ।

गिद्धको आहाराका लागि चाहिने सिनोलगायतको व्यवस्थापन गर्न आर्थिक समस्या भएपछि आहारा केन्द्र एक महिनादेखि अलपत्र अवस्थामा पुगेको केन्द्रका कर्मचारी प्रकाश मिजारले बताए । आहारा केन्द्र सञ्चालनका लागि नेपाल पक्षी संरक्षण सङ्घले बर्सेनि बजेट उपलब्ध गराउँदै आएकोमा यस वर्ष न्यून बजेट उपलब्ध गराएको बताइएको छ ।

आहारा केन्द्र अलपत्र परेपछि त्यसको व्यवस्थापनका लागि नियुक्त भएका कर्मचारी मिजारले चार महिनादेखिको पारिश्रमिक समेत पाएका छैनन् । “बजेट नभएर चार महिनादेखि पारिश्रमिक नपाउँदा आहारा केन्द्रमा काम गर्न छाडेको छु,” मिजारले भने ।
सो केन्द्रमा सिनोको व्यवस्थापन गर्न नजिकै तारबारले घेरी निर्माण गरिएको खोरमा पालिएका छाडा चौयायालाई समयमै पानी र खाने व्यवस्था हुन नसक्दा खोरमै मरेको बताइएको छ ।
अत्तरिया नगरपालिका–७ (साविक श्रीपुर गाविस)मा पर्ने उक्त सामुदायिक वन परिसरमा गिद्धको संरक्षणका लागि विसं २०६६ मा गिद्ध आहारा केन्द्र स्थापना गरिएको थियो । उक्त आहारा केन्द्र स्थापनामा प्रत्यक्ष भूमिका निभाउनु भएका ‘अर्थ कैलाली’ संस्थाका रुपक मल्लले बजेट अभावसँगै स्थानीय रुपमा गठन हुने गिद्ध शुद्ध आहारा केन्द्रको समितिको निस्क्रियताका कारण आहारा केन्द्र अलपत्र परेको बताए ।
प्रकृतिका कुचिकार मानिने लोपोन्मुख गिद्धको संरक्षणका लागि आहारा केन्द्रको स्थापना भएसँगै गिद्धको संरक्षण एवम् बास स्थानमा सुधार आएको थियो । नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेकामा यस क्षेत्रमा सात प्रजातिका गिद्ध पाइने गरेको मल्लले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share