मङ्लबार, असार २१, २०७९

गाउँमै उद्योग सञ्चालन भएपछि स्थानीयमा खुसी

१५ जेष्ठ २०७३, शनिबार २०:००

जुम्ला, १५ जेठ । कालिकाखेतु–८ बाजागाड गाउँमा रत्न ढँटेलो उद्योग सञ्चालनमा आएको छ । गाउँमै उद्योग सञ्चालन भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । सुन्दर नेपाल र हिमालयन बायोट्रेड लिमिटेडको सहयोगमा उद्योग स्थापना भएको हो । तीन महिना अघिबाट उद्योग सञ्चालनमा आएको सञ्चालक ऐनबहादुर शाहीले जानकारी दिए । ढँटेलेको तेलको मूल्य स्थानीयस्तरमा रु ७०० र बजारमा रु एक हजार १०० रहेको छ । स्थानीयस्तरमा खान र शरीरमा लगाउन मात्र प्रयोगमा आउने यो तेल युरोप, अमेरिकामा परफ्यूम, क्रिम, शरीर मालिस गर्ने र बासनादार चीज बनाएर बिक्री वितरण गर्ने महँगो वस्तुका रुपमा रहेको छ । उद्योग सञ्चालक शाहीका अनुसार एक दिनमा २४ किलो ढँटेलोको बीउबाट १२ किलो तेल निकाल्न सकिन्छ । “हामी कहाँ प्रशस्त मात्रामा जहाँतहीँ पाइने ढँटेलोको विशेष महत्व रहेछ, तथापि यसको फाइदा र गुणका विषयमा सुन्दर नेपाल संस्थाले जागरण गराएपछि उद्योग स्थापना गरेका हौँ” सञ्चालक शाहीले भने । दुवै संस्थाको संयुक्त सहयोगमा रु दुई लाखको लागतमा तेल प्रशोधन गृह र रु एक लाख ५० हजारको लागतमा सोलार ड्रायरिङ गृह निर्माण गरिएको उनले बताए । सुन्दर नेपालका जिल्ला संयोजक कमल भुसालले वनमा आधारित उद्यम विकास प्रवद्र्धन परियोजनाअन्तर्गत ढँटेलो उद्योग स्थापनामा सहयोग गरिएको बताए । स्थानीयस्तरमा उत्पादन हुने ढँटेलो तेलको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बुझाउन, समुदायमा यसको व्यावसायिक प्रवद्र्धन गर्न, उद्यमी उत्पादन गरी उनीहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उद्योग स्थपना गरिएको बताइएको छ । उद्योगले अहिले गाउँमा ढँटेलो लगाउने, सङ्कलन र प्रशोधन गर्ने काम गरिरहेको उद्योगका सदस्य गोइली बमले बताए । उद्योगका अर्का सदस्य पदम शाहीले यसको महत्व बुझेपछि अहिले १५७ ढँटेलेको बोट लगाएको बताए । उनले उद्योगबाट हुने आम्दानीको ५ प्रतिशत रकम सामुदायिक वन विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share