खोला तारेको २५ रुपैयाँ !
१७ असार २०७३, शुक्रबार ०८:२३
रुकुम (घेत्मा), १६ असार ।
सांसद्ले समेत खोला तर्दा पैसा तिर्नु भो भन्दा पत्यार नलाग्न सक्छ तर सांसद रीता रावलले खोला तारिदिए बापत २५ रुपैयाँ तिर्नु भएको छ ।
जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ गएकी जाजरकोटकी सांसद् रीता रावतलाई सदमरमुकाम फर्कने क्रममा जाजरकोट डोल्पा सडकको राडी छेपारे सडक खण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिए वापत उक्त रकम तिर्नु भएको हो । उनी मात्र होइन त्यस सडक खण्डमा यात्रा गर्ने सबैले खोला तर्दा रकम तिर्नुपर्ने बाध्यता छ । सहयोग विना खोला तर्न गाह्रो छ यात्रु सुनिता बोहराले भनिन् ।
खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि खोला तर्न निकै समस्या भएको छ । खोलाबाट वारपार गर्न समस्या भएपछि प्रतिब्यक्ति २५ रुपैयाँ लिएर काठ र डोरीको सहायताले यात्रुलाई तार्ने गरेको स्थानीय सेतु खत्रीले बताए । खोलामा पुल बनाउनका लागि धेरै पटक हारगुहार गरेपनि योजना नपरेको खत्रीले बताए । उनले यात्रुहरुलाई सहयोग गर्न भनेर जोखिम मोलेरै भएपनि खोला तार्ने गरेको बताए ।
खोला बढेपछि यातायातका साधन समेत तर्न सक्दैनन् । यात्रुहरुले रकम तिरेर खोला तर्न बाध्य भएको र यातायातका साधन तर्ने गरी पक्की पुलको व्यवस्था गर्नको लागि आफुले सम्बन्धित निकायमा पहल गर्ने सांसद् रावलले बताइन् । रुकुम, जाजरकोट र डोल्पाका मानिसहरु आवतजावत गर्ने प्रमुख बाटो यही हो । महिला, बालबालिका, अपाङ्ग, बृद्धबृद्धालाई निकै सास्ती हुने गरेको छ ।