मङ्लबार, असार २१, २०७९

क्यान्सरपीडित बालिकाद्वारा सहयोगको अपिल

८ असार २०७३, बुधबार १०:१८

बलेवा (बागलुङ), ८ असार । नौ बर्षको कलिलो उमेरमा ब्लड क्यान्सरवाट पीडित बनेकी जिल्लाको भकुण्डेकी एक बालिकाले सहयोगको अपिल गरेकी छिन् । ब्लड क्यान्सरबाट पीडित बनेकी भकुण्डे–५ की नौ वर्षीया बालिका मनिषा बोहोराले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी हुन् ।

आर्थिक अवस्था कमजोर भएका बोहोराको परिवारले मनिषाको ज्यान बचाउन सक्दो सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । गत २०७२ साल चैत महिनामा उनलाई क्यान्सर भएको थाहा पाएपछि कान्ति बाल अस्पताल, काठमाडौँमा उपचारका लागि राखिएको परिवार स्रोतले बताएको छ । उपचारका क्रममा आफूसँग भएको रकम सकिएकाले अहिले उपचारका लागि समस्या भएको क्यान्सरपीडित बोहोराकी आमा माया किसानले बताइन् ।

न्यून आर्थिक अवस्थाका कारण रोजगारीका लागि साउदी पुगेका मनिषाका बाबु खिमबहादुर किसान पनि छोरी बिरामी भएपछि स्वदेश फर्किएका छन् । मनिषाको उपचारका लागि अहिले दैनिक न्यूनतम रु पाँच हजारदेखि रु ६ हजारसम्म खर्च हुने गरेको छ । मनिषाको उपचारका लागि अझै तीन वर्षसम्म अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । बोहोराको उपचारका लागि मनिषा उपचार सहयोग समिति बनाएर मनिषा बचाउ अभियान चलाइएको छ ।

गाउँ नजिकै रहेको चौतारेडाँडा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत मनिषा गत चैत महिनामा लगातार बिरामी भएपछि उपचारका क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । पीडित बालिकाले आफूलाई बचाउन सबैलाई अग्रह गरेकी छिन् । “मलाई बाँच्ने मन छ, धेरै पढ्ने मन छ, मनाई बचाउनूस्”, मनिषाले भनिन् ।

सहयोगका लागि हिमालयन बैंक बागलुङको खाता नम्बर ०२९०६२११५८००१८ मा सहयोग रकम जम्मा गरिदिन परिवारले अनुरोध गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share