केआइ सिहं राजमार्ग अवरुद्ध
२७ असार २०७३, सोमबार १४:२०डोटी, २७ असार । आइतबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण केआइ सिंह राजमार्ग अवरुद्ध भएको छ । डोटीको लाटामाडौँ गाविसको तिललातीदेखि मुडे गाविसको कालागाडसम्म करिब ११ किलोमिटर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।
वर्षाका कारण ठाउँठाउँमा सडक माथिको भागबाट पहिरो आउँदा उक्त राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।
अवरुद्ध सडकलाई सञ्चालन गर्न तिललाती प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा डोजर लगाएर मर्मतको काम भइरहेको विष्टले बताए ।
कैलालीको धनगढीदेखि डोटी अछाम हुँदै बाजुरासम्म जोड्ने राजमार्ग अवरुद्ध हुँदा रात्रि सेवाका तथा दिवा सेवाका सवारीसाधन सोही स्थानमा अड्केर बसेका छन् । रासस