शनिबार, असार ११, २०७९

कृषि प्रणालीलाई वैज्ञानिक बनाउँः मन्त्री गजुरेल

१६ असार २०७३, बिहीबार ११:५१

कञ्चनपुर, १६ असार । विद्यमान कृषि प्रणालीलाई वैज्ञानिक तरिकाले अगाडि बढाउनुपर्ने कृषिमन्त्री हरिबोल गजुरेलले बताएका छन् ।

बुधबार कञ्चनपुरको शङ्करपुरस्थित नवदुर्गा सामुदायिक वनमा निर्माण गरिएको बेवारिसे पशु आश्रमको उद्घाटन गर्दै उनले कृषि क्षेत्रको व्यवस्थित विकासका लागि दीर्घकालीन योजना ल्याउन लागेको बताए ।

दीर्घकालीन योजनाबाट किसानको क्षमता विकास भई उत्पादन क्षमतामा सुधार आउने बताए । योजनाअन्तर्गत देशका विभिन्न ठाउँमा शीतगृह निर्माण गर्ने, अन्न, फलफूल र तरकारी पकेट क्षेत्र घोषणा गर्ने र किसानले उत्पादन गरेका वस्तु बिक्री गर्नका लागि खरिद केन्द्र निर्माण गरिने उनले बताए ।

“कृषक पेन्सन योजनालाई समेत अगाडि बढाएका छौँ”, उनले भने, “यसबाट किसानले लाभ लिन सक्छन् ।” वन र कृषिको विकासलाई सँगसँगै लैजान सके जैविक विविधतामा टेवा पुग्ने उनले बताए । सहमतिको राष्ट्रिय सरकार बन्ने वातावरण तयार भए सरकार छाड्न तयार रहेको उनले बताए । सामुदायिक वनमा दुईसय पशु अट्ने आश्रमको निर्माण गरिएको छ ।

समितिका अध्यक्ष महेशदत्त जोशीले बेवारिसे पशु आश्रम दुईसय हेक्टरमा फैलिएको बताए । उनका अनुसार पशुलाई पानीको व्यवस्था गर्न पोखरी निर्माणसँगै घाँसका विभिन्न प्रजाति रोपिएको छ । बजार क्षेत्रमा छाडिएका बेवारिसे चौपायालाई आश्रममा राखिनेछ । आश्रममा मरेका पशुलाई गिद्धले खाने भएकाले यसले गिद्ध संरक्षणमा समेत टेवा पुग्ने बताइएको छ ।

धनगढीः यसैगरी, कृषिमन्त्री गजुरेलले कृषि क्षेत्रको विकास बिना राष्ट्रिय पुँजीको विकास हुन नसक्ने बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालय कैलालीमा भेला भएका कर्मचारीलाई बुधबार निर्देशन दिँदै उहाँले परम्परागत ढङ्गले गरिने खेती प्रणालीले कृषिमा सोचेको प्रतिफल पाउन नसकिने भएकाले अब यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी भइसकेको बताए ।

सरकारले स्थापना गर्न लागेको गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रमलाई सफल बनाउन सरोकार राख्ने सबैसँग समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले कार्यालयद्वारा सञ्चालित गतिविधिबारे जानकारी दिएका थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share