कूलखर्च उनासी प्रतिशत
१५ असार २०७३, बुधबार १४:१५जुम्ला, १५ असार ।
आव २०७२/७३ को असार दोस्रो सातासम्म अख्तियार प्राप्त बजेटको कूलखर्च ७९ प्रतिशत भएको छ ।
रु तीन अर्ब ३८ करोड ५३ लाख ७५ हजार बराबरको बजेट अख्तियारी आएकोमा कूल खर्च रु दुई अर्ब ६७ करोड १५ लाख ८४ हजार भएको प्रमुख कोष नियन्त्रक गोकुल बास्तोलाले जानकारी दिए । चालुगततर्फ रु दुई अर्ब २७ करोड ७८ हजार अख्तियारी प्राप्त भएकोमा रु एक अर्ब ८८ करोड तीन लाख ७७ हजार खर्च भएको छ ।
त्यसैगरी पुँजीगततर्फ रु एक अर्ब ११ करोड ५२ लाख ९७ हजार बराबरको बजेट अख्तियारी प्राप्त भएकोमा रु ७९ करोड १२ लाख निकासा दिइएको छ । जिल्लाभरिबाट रु ११ करोड ८६ लाख ४० हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यसरी बर्सेनि असार मसान्तमा हुने विकासे चटारोले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निकासा दिन हम्मेहम्मे पारेको छ । रासस