मङ्लबार, माघ ११, २०७८

काबुल आक्रमण मानवताविरोधी अपराधः प्रमुख दल

६ असार २०७३, सोमबार १९:०१

काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारीसाधनलाई लक्षित गरी आज बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन् । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । “रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको पाशविक, क्रूर र बर्बर हत्याबाट हामी स्तब्ध भएका छौँ”–विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसले घटनामा परी मृत्युवरण गरेका नेपालीका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । मृतकको पार्थिव शरीरलाई सक्दो छिटो नेपाल फर्काउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।

घटना मानवताविरुद्धको अपराध भएको भन्दै काँग्रेसले निन्दा र भत्र्सना गरेको छ । नेपाल एवम् अफगानिस्तानले व्यहोर्नु परेको शोकको घडीमा संयमताका साथ एकजुट भएर अघि बढ्न पनि सभापति देउवाले सबैसँग आह्वान गरेका छन् ।

त्यस्तै, नेकपा (एमाले)ले पनि काबुलमा भएको आत्मघाती आक्रमणबाट आफ्नो पार्टी मर्माहत भएको जनाएको छ । एमालेले जुनसुकै नाममा गरिने यस्ता आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै मानवताविरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ । एमालेले यस कायरतापूर्ण आक्रमणमा परी ज्यान गुमाउने सबै नेपाली दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

पार्टीद्वारा साेमबार जारी विज्ञप्तिमा भनिएको छ, “मृतकका पार्थिव शरीर आफन्तजनसम्म पुर्‍याउन, घाइतेको उपचार गर्न र प्रवासमा कार्यरत नेपालीको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।”

यसैगरी, नेकपा (माओवादी केन्द्र)ले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवम् भत्सर्ना गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले साेमबार एक विज्ञप्ति प्रकाशित गरी आत्मघाती आक्रमणको विरोध गरेकी छन् ।

उनले आक्रमणमा परी मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।  उनले नेपालीको सुरक्षाको व्यवस्था गर्न र घाइतेको उचित उपचारको पहल गर्नसमेत सरकारसँग माग गरेकी छन् ।

फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली नागरिकमाथि साेमबार बिहान ५.४० बजे गरिएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको निधन भएको थियो भने पाँच नेपाली घाइते भएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share