बुधबार, माघ ५, २०७८

काठमाडौंमा कति र कस्ता अपराध ?

४ असार २०७३, शनिबार ०७:३१

काठमाडौ, ४ असार ।

उपत्यकामा दैनिक १५ दुर्घटना हुने गरेका छन् । हरेक महिना राजधानीमा हुने दुर्घटनामा १० देखि २५ ले ज्यान गुमाउने गरेका छन् । वैशाखमा मात्र पाँच सय ९६ दुर्घटना भएकोमा १८ को मृत्यु भएको थियो भने ३० गम्भीर घाइते भएका थिए । त्यस्तै, तीन सय ८० जना साधारण घाइते भएका थिए । उपत्यकामा दिउँसो १२ देखि साँझ ६ बजेसम्म धेरै दुर्घटना हुने गरेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
कहाँ हुन्छ  धेरै दुर्घटना ?
काठमाडौंमा कलंकी, सीतापाइला, नयाँ नैकाप, बालाजु, बाँसबारी, चन्डोल, बत्तीसपुलती, सिनामंगल, कोटेश्वर, हलचोक, चाबहिल, माछापोखरी, बबरमहल, नागढुंगा, जोरपाटी ओरालो तथा बूढानीलकण्ठको चपली घुम्ती धेरै दुर्घटना हुने स्थानमा पर्छन् । ललितपुरमा धोबीघाट चोक र हात्तीवनलाई ट्राफिक प्रहरीले ब्ल्याक स्पटका रूपमा राखेको छ । भक्तपुरको एसओएस चोक र लोकन्थलीदेखि मनहरा पुलबीचको सडकखण्डमा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाडौं विश्वकै सुरक्षित सहर
प्रतापसिंह थापा
एआइजी, महानगरीय प्रहरी प्रमुख
उपत्यकामा संगठित अपराधका घटना छैनन् भन्दा पनि हुन्छ । फाट्टफुट्ट हुने चोरी र आर्थिक अपराध अहिलेका प्रमुख समस्या हुन् । त्यसकारण काठमाडौं विश्वकै सुरक्षित सहर हो ।

बलियो सुरक्षा व्यवस्था छैन
शोभाकर बुढाथोकी, सुरक्षाविद्
संख्यात्मक रूपमा अपराध कम छ, तर चुनौती धेरै छन् । जसरी देशको राजधानीमा सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने हो, त्यो अवस्था भने छैन । अभिलेखीकरण नुहुन, अनुगमनमा प्रविधि नहुनु र व्यवस्थित विकास नहुँदा उपत्यकाको सुरक्षा अनुमान गर्न सकिँदैन । कमजोर ‘इन्टेलिजेन्स’, नाकाको कमजोर सुरक्षा र साना हतियारको जोखिम राजधानीमा छ ।

उपत्यकाको अपराध ग्राफ
दैनिक २ चोरी
प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक औसतमा चोरीका दुई घटना हुने गरेका छन् । साउनमा ४३, भदौमा ६४, असोजमा ४४, मंसिरमा ४३, पुसमा ४९, माघमा ३४, फागुनमा ३४, चैतमा ४७ र वैशाखमा २४ चोरीका घटना भएका छन् ।

दैनिक एक आत्महत्या
उपत्यकामा दैनिक औसतमा एकजनाले आत्महत्या गर्छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार साउनमा ३५, भदौमा ३१, कात्तिकमा ४०, मंसिरमा ३१, पुसमा १६, माघमा ३१, फागुनमा ३३, चैतमा ३४ तथा वैशाखमा ४४ जनाले आत्महत्या गरेका छन् ।

१० महिनामा ३१ हत्या
साउनदेखि वैशाखसम्ममा राजधानीमा ३१ को हत्या भएको छ । सबैजसो हत्या व्यक्तिगत रिसइबी र आवेगमा भएको प्रहरीको अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए ।
महिनामा १० बलात्कार
हरेक तीन दिनमा प्रहरीमा कम्तीमा एउटा बलात्कारको उजुरी पर्ने गरेको छ । वैशाखमा १०, चैतमा २२, फागुनमा २२, माघमा आठ, पुसमा नौ, मंसिरमा पाँच बलात्कारका घटना प्रहरीमा पुगेका थिए । धेरैजसो बालबालिकामाथिका घटना हुने गरेका छन् ।
गुन्डागर्दी शून्य, ठगीमा दैनिक ५० उजुरी
गुन्डा नाइकेहरू प्रहरी कारबाहीमा मारिन थालेपछि राजधानीमा गुन्डागर्दी लगभग शून्य छ । तर, विदेश पठाउने नाममा, जग्गा किनबेचको नाममा, जागिर लगाउने बहानामा, व्यापारमा साझेदारीको बहानामा तथा आकर्षक प्रतिफल दिने भनेर पैसा लिई ठगी हुने घटना बढ्दै गरेका छन् ।

काठमाडौं/ राजधानीमा देशभरबाट सर्वसाधारण थपिने क्रम बढ्दै गएको छ । बढ्दो जनघनत्वसँगै चोरी, ठगी, हत्या, बलात्कारलगायतका आपराधिक घटना हुने गरेका छन् । तर, काठमाडौं उपत्यकामा सुरक्षा अवस्था सुधार भएको प्रहरीको दाबी छ ।
काठमाडौं विश्वकै सुरक्षित सहरमध्ये एक रहेको महानगरीय प्रहरीका प्रमुख एआइजी प्रतापसिंह थापाले दाबी गरे । फाट्टफुट्ट हुने चोरी र आर्थिक अपराध मात्र अहिलेको समस्या रहेको उनको भनाइ छ ।
अपहरण, आपराधिक समूहबाट हुने हत्या, डकैती, गुन्डागर्दीजस्ता ठूला अपराध रोक्न सफल भएकाले राजधानी सुरक्षित रहेको प्रहरीको भनाइ छ । प्रहरी सक्रियताकै कारण उपत्यकामा ठूला अपराध हुन नपाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा बताउँछन् । ‘हामीले ब्रोकन विन्डो थ्योरी लागू गरी अपराधको कोपिलालाई फुल्न दिएका छैनौँ,’ थापा भन्छन्, ‘कतै केही हुन लाग्यो भने हामीलाई खबर आइहाल्छ । जनतामा पनि प्रहरीप्रतिको विश्वास बढेको छ ।’
करिब पाँच वर्षअघिसम्म राजधानीमा अपहरणका घटना हुने गरेका थिए । गुन्डा नाइकेबीच ग्याङफाइटसमेत सामान्य थियो । तर, पछिल्ला केही वर्षमा अपहरण र गुन्डाहरूको ग्याङफाइटका घटना भएका छैनन् । गुन्डागर्दीविरुद्ध प्रहरी आक्रामक बन्दा पनि अपराधमा केही सुधार आएको छ ।
सुरक्षा चुनौती छ
सुरक्षित सहर बनेसँगै सुरक्षा चुनौती पनि रहेको प्रहरी अधिकारीहरू बताउँछन् । अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यकाका नाकाहरूको कमजोर चेकिङ प्रणाली र भारतसँगको खुला सिमानाका कारण राजधानीमा सुरक्षा चुनौती रहेको प्रहरीको भनाइ छ।
कुन क्षेत्र सबैभन्दा सुरक्षित ?
काठमाडौंमा बालुवाटार, दरबारमार्ग तथा त्रिपुरेश्वर क्षेत्र बढी सुरक्षित रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्की बताउँछन् । काठमाडौंमा बानेश्वर र महाराजगन्ज धेरै चोरी हुने क्षेत्रमा पर्ने महानगरीय अपराध महाशाखाको तथ्यांक छ । ठमेल र नयाँ बजार क्षेत्र बढी अपराध हुने क्षेत्र हुन् । चोरी भने कालिमाटी र बानेश्वर क्षेत्रमा धेरै हुन्छ । चोरीका दृष्टिले बूढानीलकण्ठ, गोल्फुटार र धापासी क्षेत्रमा बढी असुरक्षित छ । कपन, जोरपाटी, काँडाघारी तथा चक्रपथबाहिरका क्षेत्रमा पनि बढी घटना हुने गरेको प्रहरीले जनाएको छ । नयाँ बसपार्क क्षेत्रमा लुटपाट, ठगी र लागुऔषधको समस्या छ । काठमाडौंका अन्य स्थानको अपराध सामान्य रहेको प्रहरीले जनाएको छ । ‘अहिले गुन्डागर्दी शून्यमा छ, दिउँसोको चोरी र आर्थिक ठगीका घटना बढेका छन्,’ एसपी कार्कीले भने ।
ललितपुरमा पुल्चोक, हरिहर भवन र कुपन्डोल क्षेत्र सबैभन्दा सुरक्षित एरियाका रूपमा रहेको प्रहरीले जनाएको छ । लगनखेल, ग्वार्काे र सातदोबाटो बढी अपराध हुने क्षेत्र हुन् । त्यस क्षेत्रमा पाकेटमारी र चोरीका घटना बारम्बार हुने गरेका छन् । सानेपा, कालोपुल र बल्खु क्षेत्रमा चोरीका घटना धेरै हुने गरेको ललितपुर प्रहरीको तथ्यांक छ । इमाडोल क्षेत्रमा पनि तुलनात्मक रूपमा धेरै चोरी हुने गरेका छन् । मंगलबजार क्षेत्रमा मदिरा पिएर हुने झै–झगडाका घटना बढी हुने गरेका छन् ।
‘लगनखेल, सातदोबाटो क्षेत्रमा अलि बढी समस्या छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारी भन्छन्, ‘पुल्चोक, हरिहरभवन र कुपन्डोल क्षेत्रमा अपराध सबैभन्दा कम छन् ।’ पुल्चोकमा मन्त्रीनिवासलगायत भिआइपी कार्यालयहरू भएकाले प्रहरी सक्रियता पनि त्यस क्षेत्रमा बढी छ ।
भक्तपुरमा बालकोट, सुविधानगर र कटुन्जे क्षेत्रलाई प्रहरीले बढी सुरक्षित मानेको छ । पाण्डुबजार र सूर्यविनायक क्षेत्रमा तुलनात्मक रूपमा झगडा र चोरीका घटना बढी हुने गरेकाले सोहीअनुसार सुरक्षा नीति बनाइएको भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले बताइन् । ‘स्थानीय नै जागरुक भएर साइरन सिस्टम जडान भएका र सामुदायिक प्रहरीलाई सहयोग गरेका स्थानहरूमा अपराध कम छन्,’ एसपी बज्राचार्य भन्छिन्, ‘बाहिरका मान्छेहरू आएर बस्ने क्षेत्रमा अलि बढी समस्या छ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share