काँग्रेस केसमा तीन मनोनीत
२८ जेष्ठ २०७३, शुक्रबार १९:१३काठमाडौँ, २८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीन जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहेकाे पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।
काँग्रेस सरकार परिवर्तनको पक्षमा छ –डा कोइराला
भक्तपुर, २८ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेस सरकार परिवर्तनको पक्षमा भएको बताएका छन् ।
नेपाल स्वास्थ्यकर्मी सङ्घको राष्ट्रिय भेलाको शुक्रबार उद्घाटन गर्दै उनले काँग्रेस सधैं प्रतिपक्षमा नबस्ने स्पष्ट गरे । उनले उग्रराष्ट्रवादले मुलुकमा विदेशी हस्तक्षेप बढेको र त्यसले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बनाएको विचार व्यक्त गरे ।
उनले आम्दानीको तुलनामा निकै बढी खर्च गर्ने लक्ष्य राखेको बजेटको कार्यान्वयन पक्ष कमजोर भए मुलुक धरासायी बन्ने आशङ्का व्यक्त गरे ।दुई दिनसम्म चल्ने भेलामा ७५ जिल्लाका करिब २०० स्वास्थ्यकर्मीको सहभागिता छ । रासस