एमालेद्वारा केन्द्रीय विभागहरुलाई पूर्णता
२१ जेष्ठ २०७३, शुक्रबार १९:१५काठमाडौँ, २१ जेठ । सत्तारुढ नेकपा एमालेले केन्द्रीय विभागहरुलाई पूर्णता दिएको छ । विवादका कारण एमालेको केन्द्रीय विभागले महाधिवेशन सम्पन्न भएको २३ महिनापछि बल्ल पुर्णता पाएको हो । शुक्रवार अपरान्ह पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर विभागहरुले पूर्णता पाएको बारेमा जानकारी दिएको हो । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भागबण्डा नमिल्दा अपूर्ण रहेका ३१ वटा विभागहरुले पूर्णता पाउन सकेको थिएन् ।विवाद समाधानका लागि वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय तथा स्थायी समितिको बैठकले महासचिव इश्वर पोखरेलको संयोजकमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।
एमालेले ३१ विभागमध्ये पार्टी स्कुल, वैदेशिक मामिला, प्रचार, राजकीय मामिला, अर्थ तथा योजना, स्थानीय विकास, युवा तथा खेलकुद, उद्योग तथा वाणिज्य, शिक्षा तथा मानवस्रोत, न्याय तथा कानून, उपभोक्ता हित संरक्षण तथा सुशासन, सामाजिक सेवा लगायतका २० वटा विभागमा २५/२५ जना सदस्य राखेको छ। संगठन विभागमा भने २१ जना सदस्य मात्र मनोनयन गरिएको छ । यस्तै, संसदीय विभागमा २१ तथा आर्थिक विभागमा तीन जनाको मात्र मनोनयन गरिएको एमालेले जनाएको छ ।