एउटै वनमा २४० प्रजातिका जडीबुटी
२१ असार २०७३, मंगलवार १७:४६पाल्पा, २१ असार । एउटै सामुदायिकमा २४० प्रजातिका जडीबुटी रहेका छन् ।
छहरा गाविस–५ अम्लाबासस्थित अम्लाबास लेकसल्लेरी सामुदायिक वनले २४० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार रहेका छन् । अन्यत्र लोप भएका बहुमूल्य जडीबुटी यहाँ देख्न पाइन्छ । चोरी निकासीका कारण बहुमूल्य जडीबुटी लोप हुने अवस्थामा पुगेकाबेला ती महत्वपूर्ण जडीबुटी स्थानीय वनमा हुर्काइएका छन् । यसबाट जडीबुटीका लागि अध्ययन अनुसन्धान गर्न सहज हुने सो वन उपभोक्ता समितिका अध्यक्ष माधव घिमिरेले बताए ।
विसं २०५७ देखि जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लट बनाउने काम सुरु गरिएको हो । टिमुर, हर्रो, अम्ला, काफल, लालीगुराँस, नस्पाती, कागती, सुन्तला, अम्रिसो, चिराइतो, पानीअम्ला, भुइँकटर, कटहरलगायतका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लटमा रहेका छन् ।
जिल्ला वन अधिकृत दधीलाल कँडेलले उपभोक्ता समितिमार्फत सञ्चालित नमुना प्लटमा यति धेरै प्रजातिका जडीबुटी सङ्कलन गरेर सो सामुदायिक वनले उदाहरणीय काम गरेको बताए। सो वनले १४ प्रजातिका जडीबुटीको खेती गर्दै आएको बताइएको छ । रासस