बुधबार, मंसिर २२, २०७८

उपराष्ट्रपति पुन चीन र उपप्रधानमन्त्री थापा भारत प्रस्थान

२८ जेष्ठ २०७३, शुक्रबार १२:५०

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको साताव्यापी भ्रमणका लागि सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन्। युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। विमानस्थलमा उपराष्ट्रपतिलाई उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले बिदाई दिएका थिए। यसअघि नेपाली सेनाको एक टुकडीले उपराष्ट्रपतिलाई सम्मानगारत अर्पण गरेको थियो।भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन्। भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह रहेका छन्। उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो। उपराष्ट्रपति चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्किनेछन्।
त्यस्तै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा संवाददातासँग कुरा गर्दै उनले दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुने बताए। उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्किनेछन्। उनको बिदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा नेपालका लागि भारतीय राजदूत रणजीत राय विमानस्थल पुगेका थिए।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share