आइतवार, अशोज ३१, २०७८

आलेख ः जथाभावी गर्भपतनले स्वास्थ्यमा जोखिम थप्दैछ

२१ भाद्र २०७३, मंगलवार १६:०८

म्याग्दी २१ भदौ । साउन अन्तिम हप्ता बेनीस्थित जिल्ला अस्पतालमा आएका एक दम्पती तनावमा थिए । दुई सन्तानका अभिभावक बनिसकेका करिब तीस वर्ष हाराहारीको यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ ।

उनीहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई तुहाउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरण मात्रै हो म्याग्दीमा बढ्दो क्रममा रहेको गर्भपतन गर्ने दम्पतीहरुको । म्याग्दीका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र बच्चा जन्माउनेहरुको सङ्ख्या समान जस्तै देखिनुले गर्भपतनको सुविधाले विकृत रुप लिन लागेको सङ्केत गर्छ ।
गर्भपतनलाई परिवार नियोजनको सजिलो साधनको रुपमा लिइँदा गर्भपतन गर्नेको वृद्धिसँगै प्रजनन् स्वास्थ्यमा जोखिम देखिएको चिकित्सकहरुले बताएका छन् । परिवार नियोजनका साधन नअपनाउने तर गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाउँदा प्रजनन् स्वास्थ्यमा चुनौती देखिएको हो ।
पछिल्लो चार वर्षको अवधिमा जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या एक हजारले बढेको छ । आर्थिक वर्ष २०७२र७३ मा एक हजार २८१ जनाले गर्भपतन सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक वसन्त पोख्रेलले बताए  ।
उनका अनुसार सोही अवधिमा स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ्ख्या एक हजार ३८१ छ । गर्भपतन गराउनेको यो सङ्ख्या सरकारी स्वास्थ्य संस्थाहरुको मात्र हो । निजी अस्पताल, जिल्ला बाहिर गएर तथा गर्भमै लिङ्ग पहिचान गरी भ्र्रूण हत्या गर्नेहरुको लेखाजोखा नै छैन ।

सूचीकृत नभएका अवैध निजी क्लिनिकबाट गर्भपतन गराउनेहरुको स्वास्थ्य जोखिमपूर्ण हुन्छ । आर्थिक वर्ष २०६९र७० मा स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको सङ्ख्या २८१ जना रहेकामा २०७०र७१ मा ७८० जना र २०७१र७२ मा एक हजार १५६ जना थियो । गर्भपतन गर्नेमा धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका छन् ।
नेपालको कानुनले महिलाले चाहेको अवस्थामा १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यवस्था गरेको छ । बेनीस्थित जिल्ला अस्पताल, बेनी हस्पिटल एन्ड रिसर्च सेन्टर र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र १२ हप्तासम्मको गर्भपतन गराउन पाउने अनुमति प्राप्त स्वास्थ्य संस्था हुन् । लुलाङ, सिङ्गा, भुरुङ तातोपानी, पिप्ले, ताकम, भकिम्ली, रुम, ज्यामरुककोट, पाखापानी, शिख, भगवती र अर्मनस्थित सरकारी स्वास्थ्य संस्थाले नौ हप्तासम्मको मात्र गर्भपतन गर्न पाउँछन् ।
जिल्ला अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन गराउन एक हजार रुपैयाँ र अन्य स्वास्थ्य संस्थामा पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ । गर्भपतन गर्नेको पहिचान गोप्य राख्ने गरिन्छ । औषधिको सहायताले मेडिकल र सर्जिकल विधिबाट गर्भपतन गराउने काम हुन्छ ।
गर्भपतन सेवा सहज र सर्वसुलभ हुँदा असुरक्षित रुपमा जथाभावी गर्भ फाल्ने घटना घटेपनि सेवा लिनेको सङ्ख्या अस्वाभाविक रुपमा बढ्नु चुनौती भएको जिल्ला स्वास्थ्य कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक सिनियर अनमि लीला गौतमले बताइन ।
“सुविधा छ भनेर परिवार नियोजनका साधन नअपनाउने र अनिच्छित गर्भधारण गरी गर्भपतन गराउने गर्दा समस्या देखिएको छ,” गौतमले भनिन – “सुविधालाई दुरुपयोग गरिँदा जनस्वास्थ्यमा जोखिम बढेको छ ।”
अनिच्छित गर्भका कारण शारीरिक, पारिवारिक र सामाजिक असर पर्ने अवस्थामा अन्तिम विकल्पको रुपमा सरकारले दिएको गर्भपतनको सुविधालाई धेरैले परिवार नियोजनको साधन बनाएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार धेरैजसो दम्पती परिवार नियोजनप्रति संवेदनशील नबन्ने र सजिलो साधन अपनाउन झन्झट मान्दा गर्भपतनसम्मको बाध्यता आइलाग्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share