आइतवार, अशोज ३१, २०७८

आठ सांसदलाई सीआईबीको ‘क्लिन चिट’

२९ भाद्र २०७३, बुधबार ०६:४५

काठमाडौ २९ भदौ–प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो ।

खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो । प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा खडकाको नाममा धरौटीमा निस्किए पनि ठगीको मुद्दामा २ वर्ष जेल सजाय पाएका ‘फरार’ भएकाले उनी जेल चलान भइसकेका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

‘सांसदको बयान र पक्राउ परेका खडकाबाट घटनामा सांसदको संलग्नता खुलेन, अर्का मुख्य आरोपित फरारै छन्,’ ब्युरोका डीआईजी नवराज सिलवालले कान्तिपुरसँग भने, ‘फरार रहेका साउदको पक्राउ पछि खुल्यो भने फेरि अनुसन्धान हुन सक्छ ।’

जुन र जुलाईमा स्पेनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भन्दै माओवादी केन्द्रका सांसदले भिसाका लागि बुझाएको सिफारिस पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई पिए बनाएर लैजान खोजेको खुलेपछि सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।

भारतमा रहेको स्पेनको दूतावासमा भिसाका लागि पुगेको कन्सुलर विभागको पत्रमा भरत दनुवार, सहदेव थापा, अदिना गुरुङ, देवेन्द्रप्रसाद साह, लोकमान गुरुङ, तेन्डोमा शेर्पा, पंकज गुरुङ र खडगबहादुर राईलाई सभासदको सहयोगी भन्दै भिसाको आवेदन दिएका थिए । दूतावासका अधिकारीलाई शंका लागी पत्र भारतमा रहेको नेपाली दूतावासमार्फत नेपाल फर्काउँदा कन्सुलर विभागले दिएको पत्र किर्ते गरी असम्बन्धित व्यक्तिको नाम थपेको खुलेपछि प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

असार २१ मा कान्तिपुरले उक्त विषयमा मुछिएका सिर्जना खत्रीबाहेक सबै सांसदसँग नक्कली पिए बनाएर भिसा आवेदन गरेको विषयमा सोध्दा कुँवर, थारू र साउदले मात्रै आफ्नो पिए बनाइएका व्यक्तिलाई नचिनेको दाबी गरेका थिए । बाँकी सबैले नक्कली पिएलाई सक्कली नै भएको दाबी गरेका थिए । सभासद महर्जनले त लोकमान गुरुङलाई आफूले स्पेन जानका लागि मात्रै पिए बनाएको स्वीकारेकी थिइन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अनुसन्धानमा सभासदको नक्कली पिए बनेर स्पेन पुगेबापत १२ देखि १६ लाख रुपैयाँसम्म लिएको खुलेको थियो । प्रहरीले खडकाको साथमा फेला पारेको ४२ लाख ४४ हजार सोही रकम भएको ब्युरोको दाबी छ । खडका पक्राउ परेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको देखिएन । उक्त प्रकरणमा जोडिएका साउद पनि माओवादी सभासद जानकी साउदका आफन्त हुन् । खडका साउन ३० मा पक्राउ परे ।

ब्युरो स्रोतका अनुसार उनी पक्राउ पर्नुअघिसम्म साउद ब्युरोको सम्पर्कमा थिए । खड्काको पक्राउ परेपछि उनी ‘फरार’ भए । डीआईजी सिलवालले उनी अहिले जापानमा रहेको सूचना आएको बताए । अनुसन्धानको २४ दिने अवधिमा कन्सुलर विभागको पत्र बुझ्ने व्यक्ति र पैसा बुझाएर नक्कली पिए बनेका समेत कोही पक्राउ परेनन् ।

डीआईजी सिलवालले अनुसन्धानका क्रममा केही सभासदको बयान शंकास्पद देखिए पनि प्रमाणित हुन नसक्दा उनीहरूलाई प्रतिवादी बनाउन नसकिएको दाबी गरे । केही सभासद भने ‘साह्रै सोझा’ रहेको उनले दाबी गरे । ‘केही सभासद शंकाका घेरामा छन्,’ सिलवालले भने, ‘तर अधिकांश सोझा देखिए ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share