बिहिबार, माघ ६, २०७८

असारे बजेट सक्न भ्याइ नभ्याइ

२४ असार २०७३, शुक्रबार १२:५७

बिदाको बेला समेत काम गर्छन् लेखापाल र प्राविधिक
जाजरकोट, २३ असार ।

चालु आर्थिक वर्षको चालु र पूँजीगत बजेट सक्ने समय २५ असार हो । त्यसपछि चेक काट्न मिल्दैन । २५ गतभित्र चेक काटिएन भने बजेट फ्रिज हुन्छ । त्यसैले होला यतिबेला विकासे अड्डाका लेखापाल र प्राविधिकलाई भ्याइ–नभ्याइ छ । प्राविधिकहरु आयोजना स्थलतिर कुदेका छन् भने लेखापाल बिल मिलाउन ब्यस्त । बिहान उठ्ने बित्तिकै कार्यालय पुग्ने लेखापाल बेलुका ७, ८ बजे मात्र घर फर्कन्छन् । प्राविधिक भने फिल्डमै छन् । बिहान उज्यालो भएदेखि बेलुला अवेरसम्म आयोजनाको मूल्याङ्कनमै बित्छ जिल्ला प्राविधिक कार्यालयका प्राविधिक कर्णबहादुर सिंहले भने समयमा काम नगर्दा यस्तो अवस्था आएको हो । अचेल लेखापाल र प्राविधिक बिदाको दिन समेत काम गर्ने गरेका छन् । भेरीमालिका नगरपालिकाका लेखापाल डम्बर विष्ट भन्छन् के गर्ने समयमा काम हुँदैन एकै पटक असारमा काम हुन्छ अनि चाप हामीलाई पर्छ ।
६ महिना अघि काम गर्ने भनि सम्झौता भएपछि असार कुर्ने प्रचलनले प्राविधिकलाई भ्याइ–नभ्याइ भएको जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर बालकृष्ण खनाल बताउँछन् । कतिपय सडक आयोजनहरु डोजरबाट खनिदैछ ती आयोजनाको अन्तिम मूल्याङ्कन गर्न दबाब आइरहेको छ प्राविधिकलाई । हामी काम सक्दै गर्छौं तपाई अन्तिम बिल बनाइदिनुहोला बजेट फ्रिज नबनाइ दिनुहोला भनेर उपभोक्ता समितिबाट दबाब आइरहेको जिल्ला प्राविधिक कार्यालयका एक प्राविधिकले बताए । प्राविधिकले पनि कमिशन प्राप्त हुने आयोजनाको काम गुणस्तरीय नभएपछि बील बनाइ भुक्तानीका लागि सिफारिस गरिदिने तर कमिशन नआउने आयोजनाको बील बनाउन आलटाल गर्ने गरेको स्थानीयको भनाइ छ । समयमा काम नगर्ने तर बजेट फ्रिज हुने अवस्थामा राजनैतिक पार्टीका नेताले जिल्लामा आएको बजेट फिर्ता नपठाउन भन्दै कामै नभए पनि भुक्तानी दिन दवाव दिने गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ । २५ असार मा चेक काट्ने अन्तिम मिति भनिए पनि गतवर्षतिर जाजरकोटमा साउनको पहिलो सातासम्म २५ असार भन्दा अघिको मितिमै चेक काट्ने प्रचलन थियो । यसवर्ष भने हेर्न बाँकी नै छ ।
अनुगमनको नाममा भत्ता बाँडिदै
जिल्लास्थित विभिन्न विकासे कार्यालयले नाम मात्रको अनुगमनको नाममा जिल्ला स्थित राजनैतिक दलका नेता, पत्रकार र जिल्ला प्रशासनका कर्मचारीलाई लाखौ दैनिक भ्रमण भत्ता खुवाउने गरिएको पाइएको छ । अनुगमनमा गएका अधिकांशले प्रतिवेदन बुझाउँदैनन् प्रतिवेदन बुझाए पनि कार्यान्वयन हुँदैन । त्यस्तो अनुगमनको नाममा रकम खर्च गराउनुको उद्देश्य भनकै कार्यालयको गलत कामको ढाकछोप गर्नु हो । बाहिरका मान्छेलाई अनुगमनका नाममा दैनिक भ्रमण भत्ता खुवाउने तर सम्बन्धित कार्यालयका कर्मचारीलाई बजेट सकियो भन्दै भत्ता नदिने गरेको एक कार्यालयका कर्मचारीले गुनासो गरे । कतिपय पत्रकार, नेता , जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई अनुगमन गरेको भन्दै नगरेरै दैनिक भम्रण भत्ता खुवाउने गरिएको पाइएको छ । अनुगमनको नाममा रकम खर्च गर्ने कार्यालयहरूमा जिल्ला विकास समिति, नगरपालिका, जिल्ला वन, जिल्ला शिक्षा, जिल्ला कृषि विकास, जिल्ला खानेपानी, जिल्ला पशु सेवा, जिल्ला स्वास्थ्य लगायतका रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share