मङ्लबार, माघ ११, २०७८

अमृतबहादुरको चाहना पूरा भएन

८ असार २०७३, बुधबार १४:०४

लमजुङ, ८ असार ।

छोरा पढाएर डाक्टर बनेको हेर्ने अमृतबहादुर थापाको चाहना पूरा हुन सकेन ।

नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि छोरालाई डाक्टर बनाउने चाहनाका साथ पैसा कमाउन अफगानस्थानको राजधानी काबुलमा पुगेका अमृतले छोरा डाक्टर भएको देख्न पाएनन् ।

सोमबार काबुलमा तालिवान आतङ्ककारीको आत्मघाती बम हमलामा ज्यान गुमाएका अमृतबहादुरको परिवार यतिबेला शोकमा डुबेको छ ।

थापाको मृत्यु भएको खबरले परिवारमा रुवाबासी चलेको छ, भने अर्चलबोट शोकमग्न भएको छ । सात वर्ष अफगानिस्थानमा बसेर वैशाखको दोस्रो हप्ता घरफर्केका लमजुङको अर्चलबोट–९, साँखरका अमृतबहादुर थापा एक महिना गाउँमा बसेर पुनः अफगानिस्थानमै फर्किएका थिए । सात वर्ष बिताएर गत जेठको १६ गते अफगानिस्थान फर्किएका उनको एक महिना नपुग्दै ज्यान गएको हो ।

अफगानस्थान असुरक्षित छ भन्ने सुनेकी उनकी श्रीमती दुर्गा सुयेंल (थापा) ले गत शनिबारबाट श्रीमान्सँग कुरा नभएको बताइन् । श्रीमान्सँग दैनिकी कुरा हुन्थ्यो, उनले रुँदै भनिन्, “डाक्टर पढेको छोरालाई हामीले खर्च गर्नुपर्छ भन्नुहुन्थ्यो, हामीले दुःख गरेर पनि छोराछोरीलाई सके जति पढाउनु पर्छ भन्थे ।”

विदेश गएको एक वर्षमै छुट्टी लिएर फर्कने र यतै बस्ने भनेर अफगानिस्थान फर्किएको उनले बताइन् । नेपाल प्रहरीका पूर्व प्रहरी नायब निरीक्षक समेत रहेका थापा पेसा निवृत्त भएको केही वर्ष पछिनै अफगानिस्थान गएका थिए । थापाको श्रीमती, एक छोरा र दुई छोरी छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share