आइतवार, अशोज ३१, २०७८

अमनले आविष्कार केन्द्रलाई सहयोग गर्ने

३० भाद्र २०७३, बिहीबार ०८:५७

फलेवास (पर्वत), ३० भदौ । विज्ञानका विभिन्न सामग्री बनाएर मेला महोत्सवमा प्रदर्शन गर्दै आएका पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटका १४ वर्षीय अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १० हजार ५१ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटमा सञ्चालित हिमालय उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत पौडेलले बुधबार कुश्माबजारमा आयोजित राष्ट्रिय बाल दिवसको मूल समारोहमा म्यागासेसे पुरस्कार बिजेता महावीर पुनद्वारा स्थापना गर्न थालिएको आविष्कार केन्द्रलाई आफूले व्यक्तिगत रुपमा रु १० हजार ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

विद्यालयमा विज्ञान प्रयोगशाला तथा सामग्री निर्माणमा अग्रपङ्क्तिमा रहने पौडेलले आफूजस्तै बालबालिकाका लागि विज्ञान प्रविधिको क्षेत्रमा शिक्षा आर्जन गर्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गर्न लागेको बताए । पौडेलले आगामी असोज ५ गते शमी साहित्य प्रतिष्ठान काठमाडौँद्वारा प्रदान गरिने शमी प्रोत्साहन पुरस्कार २०७३ बाट पुरस्कृत भई रु २० हजार १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्न लागेको र उक्त पुरस्कारको ५० प्रतिशत रकम आविष्कार केन्द्रलाई सहयोग गर्न लागेको बताए ।

कक्षा ९ का प्रथम छात्रसमेत रहेका पौडेलले पानीबाट चल्नसक्ने प्रदूषणरहित एक्जाभेटर, लिक नचाहिने रिङ्ग रोडमा हिँड्न सक्ने रेल, पानी र जमिनमा हिँड्न सक्ने रोबोट, सोलार पावरबाट चल्न सक्ने भूकम्प साङ्केतिक मेसिन, पहाड चढ्न सक्ने गाडी, ब्याट्रीबाट चल्न सक्ने पानीजहाज लगायतका सामानको नमुना तयार पारेर प्रदर्शन गरिसकेका छन् ।

उहाँले पर्वत, बागलुङ, पोखरा, तनहुँ, काठमाडौँ लगायतका सहरमा आयोजित विभिन्न मेला, महोत्सव र प्रदर्शनीमा आफूले तयार गरेका सामान प्रदर्शन गरिसकेको र दर्शकबाट निकै राम्रो हौसला पाएको बताउनुभयो । पौडेलले भविष्यमा आफूले प्रदर्शन गरेका सामग्रीको स्तरीकरणसँगै रोबोट आर्मी, भोल्कानो, केवलकार लगायतका यान्त्रिक सामग्री निर्माण गरेर प्रदर्शनी गर्ने योजना रहेको बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share