अपाङ्गतालाई आर्थिक सहयोग
२० कार्तिक २०७३, शनिबार ०९:५७पथरी (मोरङ), २० कात्तिक । डायनामिक मोरङ कमिटीले इटहरी–७ सिकिम्मे टोलका अपाङ्गता भएका परिवारलाई रु ६० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सो कमिटी वैदेशिक रोजगारको सिलसिलामा मोरङबाट दक्षिण कोरियामा रहेका नेपाली युवाको कमिटी हो । कमिटीले सिकिम्मे टोलका तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका अपाङ्गता भएका पाँच जना छोराछोरीका लागि सो रकम सहयोग स्वरुप उपलब्ध गराइएको हो ।
दक्षिण कोरियामा आयोजित विराट साङ्गीतिक कार्यक्रमबाट सङ्कलन भएको उक्त रकम कमिटीका अध्यक्ष जीवन थापा, संरक्षक भोला दुलाल, इन्सेक नेपालका पूर्वाञ्चल संयोजक सोमराज थापाले संयुक्त रुपमा ढुङ्गाना परिवारलाई उक्त रकम शुक्रबार बेलुका हस्तान्तरण गरिएको हो ।
सोही अवसरमा ढुङ्गाना परिवारलाई भोला दुलालले पनि व्यक्तिगत रुपमा रु २१ हजार सहयोग गरे । सहयोग रकम पाएपछि भावुक बनेका तुलसीराम ढुङ्गानाले भगवानले नहेरे युवाले सहयोग गरेकोमा धन्यवाद तथा आभार प्रकट गरे ।
ढुङ्गाना दम्पतीका छोरीछोरी ३८ वर्षीया निर्मला, ३६ वर्षीया निर्मल, ३२ वर्षीय उमेश, २३ वर्षीया पार्वता र २१ वर्षीया गोमा अपाङ्गता भएका छन् । पाँचैजना छोराछोरी जन्मजात सुस्तःमनस्थितिका हुन् ।
उनीहरुले आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । ढुङ्गाना दम्पतीले छोराछोरीको उपचारमा भए भरका सम्पत्ति सकिसकेका छन् । खाना खुवाएदेखि दिसापिसाब गर्दा समेत अपाङ्गता भएका छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ ।
सो कमिटीले मोरङको राजघाटमा रहेको ग्रामीण अपाङ्ग सेवा सङ्घलाई समेत दुई थान कम्प्युटर र युपिएस सहयोग गरेको हो ।
रासस