आइतवार, अशोज ३१, २०७८

अनिवार्य नगद मौज्दातमा नयाँ व्यवस्था

३१ भाद्र २०७३, शुक्रबार ०७:१९

काठमाडौ ३१ भदौ – नेपाल राष्ट्र बैङ्कले अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर)सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नै सीआरआर गणनाको विधि परिमार्जन गर्ने घोषणा गरेको केन्द्रीय बैङ्कले सोसम्बन्धी परिपत्र जारी गरेर कार्यान्वयनमा ल्याएको हो ।

परिपत्रमार्फत राष्ट्र बैङ्कले सीआरआर गणना विधि, त्यसको मौज्दात कायम गर्नुपर्ने अवधि र तोकिएको मौज्दात कायम गर्न नसकेको अवस्थामा लाग्ने जरीवानामा परिमार्जन गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले ग्राहकबाट सङ्कलन गरेको कुल निक्षेपबाट केन्द्रीय बैङ्कमा नगदका रूपमा जम्मा गर्नुपर्ने निश्चित प्रतिशतलाई सीआरआर भनिन्छ । वर्तमान व्यवस्थाअनुसार वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूले क्रमशः कुल निक्षेपको ६ प्रतिशत, ५ प्रतिशत र ४ प्रतिशत सीआरआरका रूपमा राष्ट्र बैङ्कमा जम्मा गर्नुपर्छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।

नयाँ व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले तोकिएको सीआरआर साप्ताहिक रूपमा गणना गरेर २ सातासम्म कायम गर्नु पर्नेछ । यसअघि नगद मौज्दात कायम गर्ने अवधि १ साता थियो । साथै त्यसरी कायम गरिने मौज्दात राष्ट्र बैङ्कले दैनिक रूपमा अनुगमन गर्ने छ । हरेक दिन तोकिएअनुसार कायम गर्नुपर्ने रकमको ७० प्रतिशत राष्ट्र बैङ्क वा उसले अधिकार प्रत्यायोजन गरेको ‘क’ वर्गको वित्तीय संस्थामा मौज्दात हुनैपर्ने व्यवस्था गरिएको छ । ठीक २ हप्ता अगाडिको १ हप्ताको औसत स्वदेशी निक्षेपको आधारमा मौज्दात कायम गर्नुपर्ने रकम निर्धारण गर्ने परिपत्रमा उल्लेख छ ।

तोकिएअनुसारको नगद निर्धारित समयावधिसम्म मौज्दात राख्न नसक्ने बैङ्क तथा वित्तीय संस्थाले नपुग रकममा जरीवानास्वरूप ब्याज तिर्नुपर्ने व्यवस्था पनि परिपत्रमा गरिएको छ । ‘तोकिएको रकम नगद मौज्दात राख्न नसक्ने इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैङ्कले निर्धारण गरेको बैङ्क दरको प्रतिशतले ब्याज तिर्नु पर्नेछ,’ परिपत्रमा भनिएको छ । अहिले बैङ्कदर ७ प्रतिशत तोकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share