बिहिबार, माघ १३, २०७८

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

९ असार २०७३, बिहीबार १४:३३

रत्ननगर (चितवन), ९ असार । घरका आँगनभरि इँटा, ढुङ्गा, बालुवाको चाङ छ । पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए । तर एकाएक सोमबारको त्यो खबरले परिवारको खुसी चुँडियो । कृष्णबहादुर ढुङ्गानाको सबै सपना चकनाचुर भए । पक्की घर बनाएर सुखसँग बस्ने सपना अधुरै रह्यो । 

अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादीद्वारा गराइएको आत्मघाती बम विस्फोटमा अन्य ११ नेपालीसँगै चितवन खैरहनीका कृष्णबहादुरको निधन भएपछि ती सबै सपना अधुरा भएका हुन् ।

अहिले एकतले घरमा बसेका सामान्य परिवारका मृतक ढुङ्गाना उत्तरकुमारका माइला छोरा हुन् । मृतक कृष्णबहादुरका साढे ३ वर्षका छोरा कृपन र झन्डै ५ वर्षकी छोरी कृष्मा छिन् । छोरा नर्सरीमा पढ्दै छ भने छोरी युकेजीमा । उनीहरुको भविष्यमा समेत धब्बा लागेको छ ।

क्यानाडेली दूताबासमा सुरक्षा गार्डका रुपमा काम गर्ने ढुङ्गाना बिदाको अवसरमा नयाँ घर बनाउन नक्सा पास र चारकिल्ला प्रमाणित गरेर सबै काम पूरा गरी फर्केका थिए । अहिले घरमा जग बसेर पिलर ठडिएको छ । बम हमलासँगै उनको विदेशी भूमिमा बसेर कमाएको पैसाले सुन्दर घर बनाउने सपना सदाका लागि अन्त्य भएको आमा बिन्दाले बताइन् ।

गएको शनिबार मात्रै टेलिफोनमा आमा बिन्दासँग कुरा भएको थियो । “घर बनाएको ठाउँमा राम्रोसँग हेर्नू, ठेकेदारले कमसल सामान हाल्छ, भन्थ्यो, आइतबार बुहारीसँग कुरा भएको थियो,” आमा बिन्दाले भक्कानिँदै भनिन् – “सोमबार यस्तो सुन्नुपर्‍यो ।”

यसअघि उनी २०६४ सालमा दुबई गएर चार वर्ष बसेर आएका थिए । विसं २०६८ मा घर आएर बिहेवारी गरे । विसं २०६९ मा भारत हुँदै विगत चार वर्षदेखि अफगानिस्तानमा थिए । छिमेकीका अनुसार कृष्णबहादुर सलक्क परेका र हलक्क बढेका थिए ।

“अति मिलनसार कसैलाई नघोच्ने सोझो मनका मान्छे,” विगत सम्झँदै छिमेकी राधा पोखरेलले भनिन् – “दैवले पनि यस्तै मान्छेलाई चुँडेर लाँदो रैछ ।”

विसं २०६९ मा सेनामा जागिर खाएर दुई वर्ष बसे । नेपाली सेनामा जागिर खाएर द्वन्द्वकालका कारण छाडेका उनी सङ्घर्ष गर्दै भविष्य खोज्न अफगानिस्तान पुगेका थिए ।

घरबाट गएको २३औँ दिन उनको आत्मघाती हमलामा ज्यान गएको थियो । वैशाख २२ गते अफगानिस्तानबाट आएका उनी २४ दिन बसेर गएको जेठ १५ गते शनिबार घरबाट अफगानिस्तानका लागि हिँडेका थिए ।

यसैबीच, आत्मघाती बम विस्फोटमा श्रीमान् कृष्णबहादुरको मृत्युपछि बेहोस भएकी चितवनको खैरहनीस्थित बहेरी गाउँकी बिधवा भगवतीलाई सलाइन पानी चढाइएको छ ।

मृत्युको खबर पाएपछि अर्धचेत भएकी भगवतीको बुधबार साँझदेखि अवस्था झन् कमजोर भएपछि सलाइन चढाइएको हो ।

भगवतीमा रक्तचापको समस्या नरहेको बताउँदै अहेब इन्दिरा छत्कुलीले केही नखाएकाले नातागत भएर जलवियोजन भएको जानकारी दिएका छन् । यही सोमबार आतङ्कवादीको बम हमलामा ३३ वर्षीय ढुङ्गानासहित १२ नेपालीको ज्यान गएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share