सुर्खेत । सुर्खेतमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको सपना अन्त्य भएपछि यतिबेला कर्णालीले प्रादेशिक विमानस्थल ताक्न थालेको छ । अन्र्तराष्ट्रिय विमानस्थलको योजना असफल भएपछि कर्णालीले प्रादेशिक विमास्थल ताकेको हो ।
तर, प्रादेशिक विमानस्थल नबन्दासम्म हाल चालु अवस्थामा रहेको सुर्खेत विमानस्थल विस्तार हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुर्खेत विमानस्थल छिट्टै विस्तार हुने जनाएको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले सुर्खेत विमानस्थल विस्तारकालागि ६ करोड बढी रुपैयाँ विनियोजन गरिएको जनाउनुभयो । उहाँका अनुसार विमानस्थलको रन वे, ट्याक्सी वे र एप्रोन ओभरटेक गर्नको लागि विमानस्थल थप मर्मत गरिने छ । जसकालागि चालु आर्थिक वर्षमा ६ करोड १९ लाख ४६ हजार नौं सय तीन रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।
विमानस्थल विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । तर, विमानस्थल विस्तारको विषयमाभने सुर्खेतस्थित नागरिक उड्डयन प्राधिकरणलाई कुनै जानकारी छैन । सुर्खेतका कार्यालय प्रमुख उमेशकुमार पन्थीले विमानस्थल विस्तारका लागि केन्द्रबाट कुनै पनि जानकारी नआएको बताउनुभयो । ‘विमानस्थल विस्तारको लागि हामीलाई कुनैपनि जानकारी आएको छैन, प्रमुख पन्थीले भन्नुभयो विमानस्थल विस्तारका लागि प्रदेश सरकारले छलफलमा बोलाएको थियो । तर, हाल के भइरहेको छ, थाहा छैन ।’
कर्णालीमा लामो समयदेखि स्थानीय र प्रदेश सरकारले प्रादेशिक विमानस्थल बनाउनुपर्ने माग राख्दै आएका छन । अन्र्तराष्ट्रिय विमानस्थलको आयोजना असफल भएपनि निजी क्षेत्रले भने कर्णालीको विकासका लागि अन्र्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवाज उठाउँदै आएको छ । पछिल्लो पटक फागुन ६ गते सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति वर्षमान पुनलाई अन्र्तराष्ट्रिय विमानस्थलको पहल गरिदिन भन्दै १७ बुंदे मागपत्र बुझाएको थियो ।
भेरीगंगा नगरपालिका १० र ११ को सीमानामा पर्ने पाण्डोलमा प्रादेशिक विमानस्थल बनाउन पहल थालिएको छ । तीन हजार मिटर रन वे बनाउने गरी विमानस्थलको पूर्वसम्भाव्यता थालिने सुर्खेत क्षेत्र नम्बर १ का संघीय सांसद धु्रव शाहीले बताउनुभयो ।
प्रारम्भिक अध्ययनअनुसार करिब १२ अर्बको लगानीमा प्रादेशिक विमानस्थल निर्माण गर्न सकिने उहाँको भनाइ छ । कर्णालीमा प्रादेशिक विमानस्थलका लागि पाण्डोल एकमात्रै उपयुक्त विकल्प भएको उहाँको भनाई छ । दीर्घकालिन रुपमा कर्णालीलाई संघीय राजधानीसँग जोड्न र सुर्खेतबाट कर्णालीका सबै जिल्लामा हवाई उडानका लागि पाण्डोलमा प्रादेशिक विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत हुनुपर्ने उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार १६:४५