सुर्खेत । वीरेन्द्रनगर ४ को भैरम सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रभित्र जडिबुटी वृक्षारोपण गरिएको छ । शनिवार विश्व वृक्षारोपण दिवसको अवसरमा वन समितिको अगुवाई तथा प्रहरी तथा अभियन्ताहरुको सहयोगमा वन क्षेत्रमा जडिबुटी वृक्षारोपण गरिएको हो ।
तेजपातका मात्रैै करिव ५०० वटा विरुवाहरु वन क्षेत्रमा रोपिएका छन् । समितिका अध्यक्ष अम्मरबहादुर कार्कीले तेजपातको पकेट क्षेत्र बनाएर तेजपातका विरुवाहरु रोपिएको बताउनु भयो । वृक्षारोपण कार्यक्रममा वन समितिका पदाधिकारीसहित सफा सुर्खेत, हरियाली सुर्खेतका अभियन्ता डा. नवराज केसी, बरिष्ठ कलाकार प्रेमदेव गिरी, प्रहरीलगायत करिव १०० जना बढीले विरुवाहरु रोपेका हुन् ।
समितिले अघिल्लो बर्षसम्म आफ्नाे बन क्षेत्रभित्र ८० हजार बढी टिम्मुरका विरुवा रोपिसकेको छ । यसबर्ष पनि थप गरेर एक लाख पुर्याउने लक्ष्य राखेको समितिका सहसचिव कुमार पन्तले बताउनु भयो । टिम्मुरमात्र होइन तेजपात, लप्सी, च्युरी, बाँसलगायतका जडिबुटीहरु पनि वन क्षेत्रमा लगाइएको उहाँले जानकारी दिनु भयो ।
आफ्नै नर्सरीमै उत्पादन गरेको विरुवा वन क्षेत्रमा लगाउने गरेको छभने बाहिरी जिल्लामा पनि विक्री गर्ने गरेको छ । समितिका सहसचिव पन्तका अनुसार सवैभन्दा बढी माग टिम्मुरको रहेको छ । टिम्मुरको विरुवा प्रति गोटा रु. ८० मा विक्री गरिएको छ । बाहिरी जिल्लाबाट पनि जडिबुटीको माग बढ्न थालेपछि बन समितिले पनि विरुवा उत्पादनलाई नै प्राथमिकता दिएको समितिका अध्यक्ष अमरबहादुर कार्कीले बताउनुभयो ।
यसैवीच कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा नेपाली सेनाको उत्तरपश्चिम पृतनामा वृक्षारोपण गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, उत्तर पश्चिम पृतनाका पृतनापति सरोजप्रताप राणालगायतले विरुवाहरु रोप्नुभएको थियो ।
प्रकाशित मिति: १४ असार २०७६, शनिबार १५:४८