मङ्लबार, जेष्ठ १३, २०७७

परिक्षणको दायरा बढाई युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसकाे अपिल

२५ चैत्र २०७६, मंगलवार १७:२२

काठमाडाैं । नेपाली कांग्रेसले काेराेना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न नेपाली का‌ंग्रेसले सरकारलाई अपिल गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठकले विद्यमान समग्र परिस्थितिको समिक्षा गर्दै संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय समेत गरेको छ ।

स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ नेापली कांग्रेसले देशभरिका स्वास्थकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्दै पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोबैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न सरकारलाई अपील गरेको छ ।

काेराेना नियन्त्रण अभियानमा अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि सरकारलाई माग गरेको नेपाली कांग्रेसद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानवीन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन कांग्रेसले सरकार समक्ष माग गरेको छ ।

ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागिपनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ । साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पुर्याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन कांग्रेसले माग गरेको छ ।

अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न/गराउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न समेत सरकार समक्ष माग गरेको छ ।

कांग्रेसले आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पुर्याउन स्थानीय सरकारहरुलाई समेत अपिल गरेको छ ।

बिदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले विशेष ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ साथै बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ ।

कांग्रेसले प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं बिदेश स्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबै साथीहरूलाई अपिल गरेको छ ।

कोरोनाको जोखिमसँग जुध्न कांग्रेसले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय समेत गरेको छ । पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न कांग्रेसले निर्देशन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe