मङ्लबार, जेष्ठ १३, २०७७

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

२४ चैत्र २०७६, सोमबार ०८:५७

भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।

कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् ।

भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ । चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो ।

सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।

त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताउनुभयो । “सङ्ख्यात्मकरूपमा सङ्क्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो”, उहाँले रासससित भन्नुभयो, “धनगढीमा महिलामाथि स्थानीय सङ्क्रमण देखिनुलाई झन जोखिम मानिएको छ ।” उहाँले ती महिलामा दोस्रो चरणको सङ्क्रमण देखिएको बताउनुभयो ।

“तेस्रो चरणमा देखिएपछि महामारीकै रुपमा फैलिने सम्भावना हुन्छ”, उहाँले भन्नुभयो, “यसको सबैभन्दा राम्रो उपाय भनेकै घरभित्र सुरक्षित बस्ने नै हो ।” उहाँले सरकारको निर्देशिकाबमोजिम यहाँका ८८ वटै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो । “तथ्याङ्क सङ्कलनमा यहाँका ८०० वटै स्वास्थ्य सङ्ख्यासमेत खटिएको अवस्था छ”, डा अवस्थीले भन्नुभयो, “स्वास्थ्य सामग्री केही मात्रामा छ, फैलियो भने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामान नै नहुने अवस्था छ ।” उहाँले पिपिइलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र दातृ निकायसित पनि सधैँ कुराकानी भइरहेको बताउनुभयो ।

त्यसैगरी यहाँका क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब सङ्कलनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सकसहित सात जनाको टोली सुदूरपश्चिम पठाउन लागेको उहाँले जानकारी दिनुभयो । भारतबाट कैलालीको लम्की र कञ्चनपुरका दुईमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिममा त्रास अझ बढेको पाइन्छ ।

“भारतमा विभिन्न शहरमा महामारी फैलिएपछि लाखौँको सङ्ख्यामा सर्वसाधारण घर फर्के”, अवस्थीले भन्नुभयो, “लकडाउनको तयारी हुँदै गर्दा सीमाबाट ठूलो सङ्ख्यामा आए पनि तिनको रेकर्ड राख्न सकिएन ।” उहाँका अनुसार चैत ११ गते नाकामा थुप्रेकामध्येबाटै एक युवकमा सङ्क्रमण देखियो । अब सङ्क्रमित बढे स्वास्थ्य सामग्री अभाव हुने अवस्था छ भन्दै उहाँले सङ्क्रमणलाई गम्भीररूपमा लिन सुदूरपश्चिमेली नागरिकसित आग्रहसमेत गर्नुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe