मङ्लबार, साउन २७, २०७७

ताक्लाकोट र उरै नाका खोल्न प्रयास

२० मंसिर २०७६, शुक्रबार १७:१६

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने र मुनाफा कमाउने सुनिश्चितता गर्न सकेमा मात्र देशमा आर्थिक समृद्धि आउने बताउनुभएको छ । यहाँ आज आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ मा पूर्वप्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेसम्म आर्थिक विकास सम्भव नरहेको बताउनुभयो ।

संविधानले निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यबारेको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभित्रकै बैंक वित्तीय सङ्घसंस्थाका लागि लगानीको सुरक्षा र मुनाफा गर्ने वातावरण सिर्जना गर्न सकेनौँ भने विदेशी लगानी भित्र्याउने कुरा कल्पना हुन्छ ।” उहाँले बैंक, वित्तीय सङ्घसंस्था, व्यापारी पनि कर छल्ने र राज्यको राजश्व रोकिहालौँ भन्ने प्रवृत्तिबाट माथि उठ्न जरुरी रहेको बताउनुभयो । राज्यद्वारा लामो समयदेखि पछि पारिएका र परेका समुदाय र क्षेत्रलाई लोकतान्त्रिक प्रगतिशील राज्य सरकारले क्षतिपूर्ति दिन आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “उनीहरुलाई कहीँ न कहीँ विशेष अधिकारका रुपमा, रिजर्भेशनका रुपमा हिजो गरिएको अपमानको क्षतिपूर्तिका रुपमा नयाँ परियोजना र थप बजेट दिन जरुरी हुन्छ ।”

आफू प्रधानमन्त्री भएका बेलामा सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले पश्चिम सेती परियोजना र सुक्खा बन्दरगाहलाई अगाडि बढाउन, चीन नजीकका ताक्लाकोट र उरै नाका खोल्न तथा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले धनगढी–अत्तरिया क्षेत्रलाई औद्योगिक करिडोर, लम्कीको डुडेझारी र कञ्चनपुरका छेलामा औद्योगिक क्षेत्र तथा कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउन पहल भइरहेको जानकारी दिँदै वर्तमान सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय रोजगार प्राधिकरण बन्दै
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वित्तीय विकासका लागि वित्तीय साक्षरता अभियानको खाँचो औँल्याउँदै सरकारले बेरोजगारका लागि राष्ट्रिय रोजगार प्राधिकरण बनाउन लागेको जानकारी दिनुभयो । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, ऊर्जा, पर्यटन र जडीबुटीको विकासमा सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै लगानीकर्ता भित्र्याउनका लागि चाहिने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावललगायतले वित्तीय सम्मेलन र आर्थिक गतिविधिका बारेमा बोल्नुभएको थियो ।

सम्मलेनमा सुदूरपश्चिमको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका, बीमा सहकारी तथा पूँजी बजारको प्रभावकारितालगायत विषयमा प्रस्तुति र छलफल गर्न लागिएको छ ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका जनतामा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालयले सुदूरपश्चिममा वित्तीय पहँुचको अवस्था अपेक्षाकृतरुपमा सुधार हुन नसकेको बताउनुभयो । प्रदेश सरकारको पहलमा आयोजित एकदिने सो सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका शीर्ष तहका व्यक्ति, उद्योगी व्यवसायी, सबै स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
6 Shares
Tweet
Pin
Share