• schedule आइतवार, मंसिर २९, २०७६

    प्रादेशिक शहीद स्मृति पार्क निर्माण हुँदै

    २६ कार्तिक २०७६, मंगलवार १४:३८

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को भैरम सामुदायिक वनको हाताभित्र प्रादेशिक शहीद स्मृति पार्क तथा वनस्पति उद्यान निर्माण हुन लागेको छ । कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले सो पार्क निर्माण गर्न लागेको हो ।

    कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेलले पार्कको शिलान्यास गर्दै शहीदहरुको योगदानलाई स्मरण गराउँदै प्रदेश राजधानीमा अर्को पर्यटकीय क्षेत्रको विकास हुनलागेको बताउनुभयो । पार्कको कामलाई कुनैपनि बहानामा वीचमा नरोक्न, अलपत्र नपार्न निर्माण कम्पनीलाई सुझाव दिदैं नेता कँडेलले वरिपरिका समुदायहरुले पनि अपनत्व महसुस गरेर समयमै सक्नका लागि पहल, दवाव र निगरानी गर्न आव्हान गर्नुभयो ।

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाभित्र निर्माण हुने शहीद स्मृति पार्कले नगरको मात्र नभइ समग्र जिल्ला र प्रदेशको गरिमा बढाउने बताउनुभयो । साथै स्थानीय सरकारबाट हुने सवै सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । वन तथा वातावरण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक शिवराम अधिकारीले पार्क निर्माणको काम गतबर्षदेखि नै सुरु हुनुपर्ने भएपनि कर्मचारी समायोजना, कार्यालय खारेजका कारण एक बर्ष ढिलाई भएको बताउनुभयो । उहाँले अव पार्क निर्माणको काम द्रुत गतिमा बढ्ने र कुनैपनि बहानामा नरोकिने उल्लेख गर्नुभयो ।

    वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालले वडाभित्र निर्माण हुने प्रदेशको गौरवको योजना भएकोले यसमा चासो राख्न वडाबासीहरुसंग आग्रह गर्नुभयो । निर्देशनालयको भू तथा जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईंले यो पार्क आठ करोड बढीको लागतमा निर्माण हुनेछ । यसबर्ष पार्कका लागि दुई करोड ५० लाख बजेट बिनियोजन भएको र त्यसबाट एक करोड २८ लाखको टेण्डर भइ काम थालिएको बताउनुभयो । पार्कमा शहीद स्तम्भ, बाल उद्यान, बनस्पति उद्यान, बनभोज पार्कलगायतका संरचनाहरु निर्माण गरिनेछ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares