• schedule सोमवार, अशोज २७, २०७६

    सूचनाको हकको प्रयोग गर्नुपर्ने बरिष्ठ उपाध्यक्ष पोख्रेलकाे सुझाव

    २९ असार २०७६, आईतवार १६:५७

    Sharing is caring!

    सुर्खेत । नागरिकले तिरेको कर र मतदानको हिसाव माग्नका लागि सूचनाको हकको प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजनामा आइतवार सूचनाको हकसम्वन्धी ऐन नियमको प्रभावकारिता विषयक अन्तरक्रियामा महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले उक्त सुझाव दिनु भएको हो ।

    उपाध्यक्ष पोख्रेलले जन्मुन अघिदेखि मृत्यु पर्यन्त नागरिकले तिरेको कर र मतदानको हिसाव माग्ने सजिलो उपाय सूचनाको हक नै भएको बताउनु भयो । उहाँले सूचना लुकाउने प्रवृत्ति बढिरहेको बेला सूचनाको हक प्रयोग गरी पत्रकार एवं नागरिकले सवैले थाहा पाउनुपर्ने जनाउनु भयो । विश्वसनीयता, पारदर्शिता र कार्यान्वयनका लागि सूचनाको हक अपरिहार्य भएको भन्दै उनले महासंघ सूचनाको हकको ऐन कार्यान्वयनको अभियानमा संलग्न रहेको उल्लेख गर्नुभयो । सूचनाको हकले पत्रकारहरुले लेख्ने समाचारको वजन बढाउने उहाँको भनाइ छ ।

    पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले ऐन कार्यान्वयन हुन सकेको खण्डमा मात्रै सूचनामा सहज पहुँच पुग्ने बताउनु भयो । विशेषगरी खोजी पत्रकारिता गर्नेहरुका लागि सूचनाको हक अनिवार्य नै भएको उहाँले जनाउनु भयो । साथै उहाँले सूचनाको हक पत्रकारको मात्र नभइ सर्वसाधारणको पनि भएको बताउनु भयो ।
    संचारिका समूहका पूर्व अध्यक्ष बविता बस्नेतले सूचनाको हक कार्यान्वयन हुन सके यसको प्रभावकारिता झल्कने बताउनु भयो । उहाँले पत्रकार र नागरिकवीचको चेपुवामा सूचनाको हक परेको भन्दै विगतको तुलनामा सूचना माग्ने दायरा फराकिलो हुँदै गएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा सूचनाको हकको प्रयोग सोचे अनुसार हुन नसकेको औंल्याइएको थियो । साथै सूचना दिनेहरुले पनि सकेसम्म सूचना लुकाउने हुँदा सूचनाको हक प्रयोग गर्नुपर्ने सुझाइएको थियो । पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, महासंघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारती, पूर्व अध्यक्ष पीताम्बर ढकाललगायतले सूचनाको हकले नै नागरिकले थाहा पाउने अधिकार सुरक्षित गर्ने बताउनु भएको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares